11/25/16

पर्खाल

जब हामी जिल्लाबाट काठमाडौं आयौ हामी ललितपुरको अली पुरानो बस्तीमा बसेका थियौ त्यो ठाउमा  धेरै आफ्ना आफ्ना दाजुभाईहरु बस्दा रहेछन् तर एउटा कुरा चाँही मलाई अचम्म लाग्थ्यो त्यहाँ धेरै जसो दाजुभाई केही न केही कुरामा मन मुटाब भएर बोलचाल नभएको देखे ।  आईमाई आईमाई  झगडा गरी रहेका हुन्थे कौसीमा बसेर रमिता हेर्न रमाइलो भए पनि मलाई साह्रै दिक्क लाग्थ्यो यिनीहरु हामी सँग त राम्रै बोल्छन आफु आफु चाँही किन लडी राख्छन जस्तो लाग्थ्यो।

आज youtube मा एउटा भिडियोमा कथा सुने दुई जना ठुला जमिनदार दाजुभाई हुन्छन र तिनीहरुको टन्नै जग्गा जमिन हुन्छ ।  तिनीहरुको जग्गा चाँही दुई वटा पाखामा छुट्टीएको हुन्छ  कारण बस दाजु भाईको बेस्करी झगडा भएर बोलचाल नै  बन्द हुन्छ त्यतिकैमा एकदिन एउटा डकर्मी ठुलो चाँही दाईकोमा काम खोज्दै आइपुग्छ। दाजुले डकर्मीलाई भन्छ  मेरो जग्गामा यती ठुलो पर्खाल बनाइ देउ कि मैले पारी पट्टी भाईको केही देख्न नपरोस ।

डकर्मीले कुरा बुझेर हस म काम गर्छु भनेछ र ठुलोदाईले डकर्मीलाई काम अराएर काम बिशेषले बाहिर गएछ र फर्केर आउँदा पारी नदेखिने पर्खाल त बनेको थिएन तर त्यहाँ दुई पाखालाई जोड्ने पुल बनेको थियो । त्यो देखेर दाजु अवाक भएर पुल नजिक उभिएका थिए । दाजुले दुई पाखा जोड्न यस्तो पुल बनाएको देखेर भाईको मन पग्लेछ   भाई पुल तिर अगाडि बढेछ दाईले परबाट भाई आइरहेको देखे । भाई अती नै नजिक आफु तिर आएको देखेर दाजुले आफुलाई सम्हाल्न सकेनन र अङ्गालो हाल्न पुगे।


हो हामी परिवार, साथी भाई कसै सँग रिस उठ्यो भने मनमा इगोको पर्खाल लगाउछौ तर मिल्न सकिने पुल कहिले बनाउदैनौ। यो पर्खालले मनमा कहिले पनि शान्ती दिदैन, यदी हामीले परिवार, साथी भाई र अपरिचित सँग पनि सद्भाब, सहयोग मायाको पुल बनाउन सक्यौ भने संसार कती रमाइलो हुन्थ्यो होला।

रातो रङ

मेरो ससुरा ४ महिना अगाडि बित्नु भयो। घरको मुल मान्छे नहुँदा घरको खम्बा टुटेको अनुभब भयो। म श्रीमानको गर्ल्फ्रेन्ड हुँदा देखीनै उहाले खुब माया गर्नु हुन्थ्यो। उहाको मायालु स्वभाब झलझली आँखामा आइरहन्छ। पछील्लो पटक अष्ट्रेलिया आउँदा उहा भन्नु हुन्थ्यो “दुलही जती जती बुढो हुँदै गयो बाच्ने लालच बढी हुदो रहेछ।“ प्यारो बुवाले आफ्नो शरीर त छोडेर जानु भयो तर समाज भनौ या धर्म भनौ या सस्क्रिती भनौ १३ दिन सम्म मुमाले बेहोर्नु परेको कस्टले मेरो मन छिया छिया पार्‍यो। सधैं रातो टिका चुरा पोतेमा सजिएर बस्ने मेरो सासु मुमालाई पुरै सेतो रुपमा देख्दा मननै भक्कनिएर आउथ्यो। कती रात निन्द्रा पनि पर्थेन। ४० बर्ष सँगसगै बिताएकी हमसफर सँग छुटिदा त कती दु:ख छ तेही माथि आफ्नो जीवनमा पाएको सौभाग्य पनि निचोरेर दिनु पर्ने रहेछ। मलाई लाग्छ आफ्नो श्रीमानले दिएको चुरा पोते सिन्दुर त झन जिन्दगी भरको लागि अमुल्य उपहार हो किन श्रीमानको मृत्‍यु सङै चुडेर फ्याक्नु पर्यो त? झन लगाइ राख्नु पर्ने होइन र? मलाई पहिले देखीनै कलरहरु एकदम मन पर्छ। कोही दु:ख बारेर आईमाईले सेतो लुगा लगाएको देख्यो कि रातो सल लगेर ओढाइ दिन मन लाग्थ्यो।
आजकाल धेरै धर्ममा विवाह गर्दा आईमाईले सेतो लुगा लगाउछन फुल हातमा लिन्छन यो सेतोले सबैलाई खुशी दिन्छ। नयाँ जीवन आरम्भ हुन्छ। मर्नु बाच्नु समयको खेल हो तर हाम्रो नेपाली आईमाईले लोग्ने बिते पछी लगाउने सेतो लुगाले पिडा मात्रै दिदो रहेछ बिशेष गरेर आफ्नो आमालाई यो रुपमा देख्न नसकिने रहेछ।
यो समय यस्तो दु:खद हुन्छ कि भोग्नेलाई मात्रै थाहा होला तर म हार्ने वाला छैन समाजले हामीलाई बनाउने होइन हामीले समाज बनाउने हो म हर दिन मुमालाई सम्झाइ राखेको हुन्छु कहिले टिका ल्याइ दिन्छु, कहिले रङिन लुगा, कहिले रङिन लिप्स्स्टिक ल्याइदिन्छु। मुमालाई रातो अतीनै सुहाउछ र जहिले पनि मैले सारी किन्दा रातो नै किन्देको छु र मेरो भित्री इक्ष्या सधैं भरी रातो नै किनी दिने हो। एउटा नारीको लागि रातो बाहेक अरु सब रङ फिक्का फिक्का लाग्छ। रातो रङ मात्र होइन यो शक्ती हो, यो खुशी हो, मायाको चिन्ह हो, यो उत्सब हो, यो हाम्रो रगतको रङ जीवन हो।