10/26/08

संपर्क हुन नसकेको मोबाईल

टेलकमको दिदी को स्वर पनि सुन्दा सुन्दा वाक्स्(वाक्क धेरै लागेपछी वाक्स् हुन्छ) लागिसक्यो। २ दिन भयो नेपाल फोन लगाउन खोजेको कस्तो मुल परेको टेलकम रैछ संपर्क नै नगराइदिने। ल्यान्डलाइनमा हानेको एउटा नेवारनी आन्टी ले कस्लाई खोजेर ल्याएको भन्छिन। हन ललितपुरमा हानेको फोन भक्तपुर पुगेको देखेर म त तिन छक् परे। अली अली हो र जिल्लाकै हेराफेरी हुन लाग्यो।

नेपालमै छ्दा पनि कसैले बिदेश बाट फोन गर्‍यो कि UTL वा Mero Mobile को नम्बर आउथ्यो। त्यस्तो नम्बर बाट आएको कुरा राम्रो सँग नबुझिने र नसुनिने हुन्थ्यो। आफ्न्त सँग फोनमा घाटी सुक्ने गरी कराउन पर्थ्यो।तेती मात्रै कहाँ हो र कहिले काही आफ्नो बोय्फ्रेन्डसँग मिठा मिठा गफ भैई रहेको बेला अर्कै सँग लाइन जुध्न पुग्थ्यो। अब परेन त आपत्!

बिदेशबाट आउने फोनमा लोकल नम्बर आएको कुरा २-३ चोटि मैले टेलकममा खबर गर्दिन खोजे तर टेलकमको फोन कहिले नउठ्ने अहिले नउठाउने भए पछी मैले आफ्नै समयको बर्बादी ठानेर छोड्दिए।

संसारमै सुचना तथा संचार प्राबिधिको बाढी आइरहेको बेला टेलकम(टेलीफोन कम?)ले आफ्नो सेवा सुधार्ने बेला आएन र?

10/25/08

बिदेशी भुमिमा बिधार्थी

मेरो छोरो बिदेश गएको छ भनेर परिवार तथा आफन्तलाई घिरौला जत्रो नाक बनाउदै ठीक्क छ।
बिदेशको भिशा लाग्न साथ अब सुखका दिन आए, खुशीका दिन , अब भने आफुले भनेको जस्तो हुने भयो भनेर मख्ख पर्न नपाउदै जब बिदेशको माटोमा पाइला टेक्छ तब आफ्नो आँखा वरीपरी
देखिने समस्याले नराम्रो सँग झस्कन्छ।


बिधार्थी जुन सपना देखेर अष्ट्रेलिया आएका हुन्छन आँखा तेती बेला खुल्छ जब घर भाडा तिर्नु पर्ने हुन्छ, आफ्नो लुगा आँफै धुनु पर्ने हुन्छ, आफ्नो लागि आँफै पकाउन पर्ने हुन्छ, आफ्नो लागि आँफै कमाएर फी तिर्न पर्ने हुन्छ तेती बेला आफ्नो काधमा पहाडले आएर थिचेको महसुस् गर्छन्।


बाबु आमाले रिन धन गरेर बिदेश पठाउछन यहाँ आउने बेलामा १५००-२००० डलर दिएर पठाउछन्
तेतिले त बिचरा उसलाई एक महिना पनि थेग्न गार्हो पर्छ। कहिले घरयाशि काम नगरेकाहरु दिनमा पढाई र अरु बेला कामको चपेटा, फी तिर्न पर्ने टेन्सन आदी इत्यादी परिस्थिती ति कलीला ठिटा ठिटिले कसरी सहदा हुन्। यहाँ केटाहरु धेरै जसो भाडा माज्ने रैछन्। त्यो काम पनि पाउन बडा मुस्किल हुने रैछ। नेपालको घरमा एउटा चिया खाएको गिलास सफा नगर्ने बज्रस्वाठ्हरुलाई रास का रास भाडा माज्नु पर्दा अमिलो मन हुदो हो । भाडा माज्ने बाहेक किल्निङ, वेटर काम पनि गर्दा रैछन । कतिपय बिधार्थीले त आफुले गरेको काम नेपालमा भन्दै भन्दैनन् सकेसम्म लुकाउन खोज्छन र घरमा काम राम्रो हल्का छ भनेर दङ्ग पार्दिन्छन्। हुन पनि हो आफ्नो छोरोले अर्काको ट्वाइलेट् सफा गर्दै छ भन्ने कुरा कुन चाँही आमाले सहलिन र?


तर अर्को पाटो हेर्दा बिद्यार्धिहरु औधी खुशी छन् । काम गर्छन्, पढ्छन् आफु आत्म निर्भर छन्
जसो तसो गरेर घरमा अली अली आमालाई साडी र बाबुलाई सर्ट किन्ने पैसा पठाएका छन्। विद्यार्थीहरुको भनाइमा पैसा भए पछी अली अली मोज पनि भै हाल्छ । बाबु आमाको कच् कच् सुन्न परेको छैन। पैसा के हो भनेर राम्रो सँग चिनेका छन्। आफु आत्म निर्भर भएकोमा गौरब पनि गर्छन्। काम त आखिर काम हो उनिहरु आँफै भन्छन् हामी सँग केही काम गर्ने skill छैन न त हामी नेपालबाट आउँदा केही professional training नै लिएर आएका छौ अनी हामीलाई कस्ले म्यानेजरको जागिर दिन्छ त? हो आफुले केही सिप सिकेर नआएकोमा चुक चुक मान्छन्। तर पनि यो लाईफ हो जसरी पनि बिताउनु छ भोली पढि सके पछी PR apply गर्ने अनी राम्रो जागिर खाने, परिवारलाइ खुशि पार्ने सपना मुटुभरी राखेर बिदेशी भुमिमा बसेका छन्।

10/3/08

Made in china

खासाको माल भन्ना साथ हामि नाक खुम्चाउछौ। हुन पनि ४००० मा रेडियो, टी भि, क्यामरा सबै भएको मोबाईल पाइने, ५ रुपैयामा टर्च लाइटर भएको पाइने तर भर चाँही पर्न नसकिने ४००० को मोबाईल २ बर्ष पनि टिक्न सक्छ २ दिनमै बिग्रन सक्छ। तेस्को ग्यारेन्टी कसैले नलिने। म एकचोटि खासा सिमाना काटेर चाइना सम्म पुगेको थिए। सामान कती राम्रो कती सस्तो जे देखे पनि किन्न मन लाग्ने। ज्याकेट र झोला किनेको थिए। ज्याकेट किनेर लाउन नपाउदै खल्ती भ्वाङ् परी हाल्यो। झोला को पनि फित्ता चुडिएर कामै नलाग्ने भो। पैसा को सत्यास! होइन एस्ता कमसल सामान बनाएर कस्तो नेपालीलाई झुकाउन सकेका होलान भनेर म मनमनै सोच्थे तर यहाँ पनि यत्र तत्र सर्बत्र चाइनिज सामानले भरिएको रैछ नेपाल लैजाने, नेपाल पठाउने केही सामान किनौ भने पनी सबै made in china लेखेको मात्रै हुने। I love australia लेखेको टीसर्ट छ made in china को ट्याग देखेर त्यती टाढा बाट पनि खासा कै माल ल्याइदिछ भनेर खिल्ली उडाउने हुन कि भन्ने पनि मनमा छदैछ।

तर पनि म चाइनालाइ चान्चुने रुपमा हेर्दिन तिनिहरुले जुनरुपमा बिकसित र बिकासन्मुख देशलाई सम्पूर्ण रुपमा आफुमै नपत्याउदो किसिमले भर पारी सकेका छन्। केही दिन अगाडि म टि.भी हेर्दै थिए चाइनिज सामान नभए यहाँका घर रित्तै हुने देखायो। दराज देखी खाट सम्म, कप प्लेट देखी बाथ टब सम्म सबै चाइनिज हुने। अझ यस्पाली भएको बेजिङ ओल्म्पिक गेम हेरेर त अरु देश चकित परेर हेरेको हेर्यै भए। एसियालाईनै प्रतिनिधित्व गरेर ओलम्पिकमा जुन प्रदर्शन गर्‍यो तेस्लाई सबै देशले वाहा वाही गरे। वहा वाहीको ताली सकिन नपाउदै ५० सौ हजार केटाकेटीको ज्यान जाने गरेर दुध बजारमा बेचेको देखेर चाइना आर्थिक रुपमा अगाडि बढ्न निकै हतार गरेर सामान्य गुणस्तर पनि ख्याल नगरेको पाइयो।

ज्याकेट र झोला त अर्को किन्न सकिएला तर यसरी पैसा छिट्टै कमाउने धुनमा सामान्य गुणस्तरमा समेत ध्यान नदिएर मान्छेको ज्याननै जाने गरेर सामान बेच्न थाले भने एक्दिन No Chinese product भन्ने दिन पनि आउन सक्छ।