1/26/09

नेपालमा बिहेको लागि दुलही खडेरी

सुनिन्छ नेपालमा अहिले बिहेको लागि केटि पाउन बडा मुस्किल् छ रे। लमिहरु पनि केटिको खडेरि परेकोले चकित छन् रे। कुरो के परेछ भने नि राम्रि राम्रि केटि सबै स्कुल कलेज मै बूक भै सक्ने रैछन्।

बिचरा खुरु खुरु राम्ररी पढ्ने दाँया बाँया नहेर्ने केटाहरु अब जवान भए पछी केटी पाउन मुस्किल भएछ। अझ तेही माथि भए भरका केटीहरु बिदेश जानाले पनि समस्या आइराखेको र बिदेश जानेले पनि dependent लग्न पाउने हुनाले सुटुक्क विवाह गरेर जानाले विवाह योग्य बरलाई अझ थप समस्या भएको बिशेष सुत्रले जानकारी दिएका छन। आज भोली १८ बर्ष पुग्न नपाउदै education consultancy ले राम्रो अफर निकालेका छन् । जोडी मिलाउनु होस् बिदेश जानुहोस्। एउटा भिसामा अर्को फ्री । अब यस्ता कलीला युवा युवतीलाई विवाहको certificate भिडाइदिए पछी अबको पाँच बर्षमा Divorce गर्न नेपालीहरुले अमेरिकिलाई उछिन्ने छन्।

अब यस्तो केटीको खडेरीको कुरा मेरो सासुमुमाको कानमा नि पुगेछ। अहो!! छोरोले बेलैमा लप गरेछ भनेर सकल परिवार खुब दङ् छन् अरे।

हिजो यहाँ अष्ट्रेलियन डे थियो। यसो सिटी तिर गएको थिए । जुङ्गाको भर्खर रेखी बसेको एकजना नेपाली भाईलाई भेटे दिदी म त बिहे गरेर आको भने। कती चाडो बिहे गरेको नि भन्दा नक्कली बिहे गरेर आएको रे। Consultancy ले सबै मिलाइदियो रे आफ्नो girlfriend लाई चाहि नलिकन आएर चिनु न जान्नुको केटी सँग बिहा गरेर dependent भएर आएको देखेर म त चकित परे।

मेरा आफन्त ईन्जिनियर छन, महिनाको हजारौ कमाउछन् विवाहको लागि योग्य छन। उनलाई केटी पाउन गाहो भएको बेला यो नाथे १२ कलास पनि नसकेकोले बिहा?? त्यो पनि नक्कली!! गरेर आएको देखेर मननै कुढियो।

अब यस्तै गर्न लागे भने नेपालमा साच्चिकै जोडी मिलाउन चाहनेलाइ बडा मुस्किल हुने भयो । नक्कली बिहे गरेर डिभोर्स गर्दा जिन्दगी भर डिभोर्सको ट्याग सक्कली रुपमै लाग्छ भनेर किन नबुजेका होलान। विवाहलाई किन यस्तो बिदेश आउने भिसा बनाएका होलान। लौन प्रभु मैले त बुझ्न सकिन।

1/21/09

चित्रमा रेल देख्नु र साँच्चै चढनु फरक हुन्छ नि हो


रेल चढ्न पाएकी ब्लगर्निको अनुभव यही हो। यस्तो रे उस्तो रे सुन्नु र आँफैले अनुभव गर्नुमा फरक हुने रैछ। पैसाले भ्याए सम्म म अरु देश नि घुमेर त्यहाको बारेमा जानकारी गराउन प्रयास गर्ने छु। म नेपालमा वेब होस्टिङ्को पनि बिजनेस गर्थे। यो पनि अचम्म कै बिजनेस थियो। १० mb स्पेस लाई ५०० पनि पार्न सक्नु हुन्थ्यो ५००० पनि पर्न सकिन्थ्यो। यो सबै बोलीको कला हुन्थ्यो।

रे रे कै भरमा होस्टिङ बेचिन्थ्यो। मैले usa बाट बल्कमा hosting किन्थे। किन्नु अगाडि तेस्को reliability हेरिन्छ । फर्स्ट डाटा सेन्टर क्यलिफोर्निया, सेकेन्ड डाटा सेन्टर टेक्सास भनेर कन्ठै पारीन्थ्यो।

हाम्रो सर्भर स्मोक फ्री, डस्ट फ्री इधर उधर भनेर कस्ट्मरलाई चित्र मात्र हेरेर जान्ने पल्टेर कती गफ दिनु भनेर वाक्क पनि लाग्थ्यो।

मर्कनटाइलमा काम गर्ने अती राम्रो मुना भन्ने साथी थिइन्। एकदिन उनले मलाई वास्तविक रुपमा त्यहाँ भएको डाटा सर्भर, ठुला ठुला स्याट्लाइटहरु देखाइन । तर पनि मैले बिदेशी चित्रमा जस्तो डाटा सेन्टर त्यहाँ पाइन । तर जब म अष्ट्रेलिया आए यहाँ मैले चाहेको अनुसार डाटा सेन्टर देखे र आफ्नै हातले ति सर्भर छुन पाउदा म हर्षले गदगद भए। मैले खुब हेरे । खुब प्रश्न पनि गरे अनी एक छिन् बसेर सर्भर आँफै मोनिटर नि गरे। १२ कक्षा पढ्दा सम्म कम्प्युटर छुन नपाएकी मैले यहाँ आएर घर जत्रा सर्भर किबोर्डको भरमा मोनिटर गर्न पाउदा त्यो रात म खुशीले निदाउन सकिन। मलाई सपना नै हो कि जस्तो पनि लाग्यो।

मैले यहाँ देखेका केही कुरा लेख्दै छु।

- नेपालमा जस्तै यहाँ पनि महिला आइटी प्रोफेस्नल सार्है कम रैछन्। यहाँ पनि पुरुष सरह आईमाईलाई तलब दिएन भनेर आईमाईहरु उफ्रिदा रैछन।

- जिन्दगीभर मैले यती धेरै sorry thank you सुनेको छैन होला त्यो भन्दा धेरै मैले यहाँ आएर सुने। जे गरे नि सरी र थ्यांक यू चै भनी हाल्ने रैछ्न र अर्को कुरा तपाईं होटेल, रेस्टुरेन्ट, मल जहाँ सुकै जानुस् hi, how are you? भन्छन्। कहिले काही बोल्न मन नलागेको बेला त आपत नै पर्छ।

- अरु ठाउँमा त था भएन तर Melbourne मा बाटोमा हिड्दा नचिनेको मान्छे पनि हास्छन र बिहान छ भने good morning भन्छन्।

- यहाका मान्छेहरु लाई जे सोधे पनि भरसक राम्रो तरिकाले भनिदिन्छन्। एकदिन त मैले आफ्नै घर आउने बाटो बिर्सें एउटो खैरेले घर सम्म ल्याइदियो।

- खैरेहरुहरु चुम्मा चुम्मी गरेको देखेर होला ईण्डियनहरु पनि तेस्तै सिको गर्छन्। हामि पनि सितैमा दर्शक हुन पाईन्छ।

- यहाँ का नागरिक तथा स्थानिय बासिन्दाले पहिलो घर किन्दा $२४००० (first home grant ) सरकार बाट पाउदो रैछ।

- नेपालमा नेताहरुले सुत्केरी भत्ता खाए भनेको त सुनेको थिए तर यहाँ चाहि बच्चा पाउने बितिकै $७००० पाउदा रैछन।

- यहाँका बुढी हरु सार्है नक्कली यती मेकअप गर्छन् कुरै नगरौ। अझै तिनी हरु लाई त hi ! young lady भन्नु पर्ने बा !! बा!!

- यहाँ कुकुर पाल्न सार्है महँगो। अस्ती एउटा सानो कुकुर लाई कती भनेर सोधेको $८५० रे । अब कुकुरलाई छुट्टैखाने कुरा खुवाउन पर्ने। कुकुरलाई पिट्न तथा हेप्न नपाईने नत्र भने जनावर सम्बन्धी कानुन लाग्ने। फेरी आफ्नो कुकुरले अरु लाई टोक्यो भने त $१२००० तिर्न पर्ने।

- यहाँका young generation सार्है छुक्छुके चक चक नगरि हल्ला नगरि बस्नै नसक्ने। अझ जडियाहरुको चटक नि ट्रैनमा हेर्न लायक हुन्छ।

- एक जना नेपाली भाईले यहाँ मेलबर्न सेन्ट्र्ल भन्ने सपिङ् मलमा थुकेछन्। सिभिल ड्रेसमा भएको पुलिस तुरुन्त आएर किन थुकेको भनेर सोधेछ? थुक आयो अनी थुके भनेछन् नेपाली भाईले? बल्ल बल्ल जालमा परेको माछा के छोड्थ्यो $२६० को पुर्जा त्यो भाईको हातमा थमाइ दिएछ। जिन्दगी थानकोट नकाटेका एकै चोटि मेल्बर्न आएका भाईलाई थुकेर करिब नेपालि रुपैया १३,२३० तिर्न पर्ला भनेर हेक्कै नरहेको बताए।

- अर्का भाईले पनि मेलबर्न सेन्ट्र्ल अगाडि बसेर मज्जाले फ्वा फ्वा चुरोट खाएर बाटोमा ठुटो फालेछन् तेस्पछी त साधा ड्रेस लगाएका पुलिसले मज्जाले फाइन लगाइदिएछ। अब जसरी ILTS/TOFEL को जाच दिन अनिबार्य हुन्छ त्यसै गरेर नेपालीहरुलाई नि यस्ता साधारण नियम कानुन पनि पढाएर बिदेश पठाउनु पर्छ जस्तो मलाइ लाग्छ।

क्रमस:

1/12/09

लोडसेडिङ्ले साना आइटि कम्पनी बन्द हुने अवस्थामा

अहिले भैरहेको १६ घन्टे लोडसेडिङ्ले नेपालका ठुला तथा साना IT Company freelancer लाई भयङ्कर प्रभाब पारेको जेनेरेटर प्रयोग गर्दा गुणा बढी पैसा पर्ने inverter ups चार्ज गर्न पर्याप्त समय नपुग्ने भएको

करिब ५० वटा कम्प्युटर ४० जना स्टाफ राखेर ebpearls भन्ने कम्पनी चलाएर बसेका बिजनेस डाइरेक्टर रुपक शाक्य भन्छन् "बैकल्पिक उर्जा प्रयोग गर्दा कम्पनिको खर्च गुणाले बढेको यस्तै स्थिती भयो भने साना आइटि कम्पनी सबै बन्द गर्नुपर्ने ठुलाले पनि limited सर्भिस दिएर धेरै मात्रामा आफ्नो अरु सर्भिस ठप्प पार्ने अवस्था आउन सक्छतेस्तै गरेर आइबिबी भन्ने कम्पनी चलाएर बसेका नारायण चिन्तित मुद्रामा अती आवश्यक काम गर्न जेनेरेटर किन्ने सुरसारमा छन्


सिम्रिक सलुसनका किरणको चिन्ता पनि अरु आइटी प्रोफेस्नलको भन्दा कम छैनसमयमा ग्राहकको काम नसक्दा ग्राहक भाग्ने उत्तिकै सम्भावना यता कामको खात हुँदा उता बत्ती नहुँदा स्टाफ idle बस्नु परेको पिरलो नि छदै यदी समयमै सरकारले कुनै बिकल्प जस्तै थर्मल प्लान्ट वा अरु बिकल्प नखोजेको खन्डमा आइटी कम्पनी बन्द गर्नु पर्ने अवस्था उन सक्ने कुरा किरण बताउछन्


यसरी काम गरेर खान्छु भन्दा पनि प्याप्त स्रोत नहुँदा बत्ती नहुँदा ट्वाल्ल परेर हात बाधेर बस्नु पर्दा कती रिस उठ्छ होला ? जब सम्म देशमा बत्ती हुँदैन तब सम्म इन्फोट्रेड क्यान इन्फोटेक बेकार छन् यि सोहरु बच्चालाई खेलौना देखाएर भुलाए जस्तो हुनेछ -नेपाल -गभर्नेन्स, एम कमर्स, वायरलेस टेक्नोलोजी, नेटवर्किङ, कम्युनिकेसन जस्ता कुराहरु माघमा स्वस्थानीको कथा सुनेको जस्तो हुनेछ इती श्रि - नेपाल लोडसेडिङ्पुराणे केदारखन्डे बिदेशिहरु हाम्रो आईसीटी माइलस्टोन फर न्यु नेपाल नारा श्रवन करके खुब हसन्ते


नेपालमा बर्षेनी २५००-३००० सम्म कम्प्युटर डिग्री लिएर बिद्यार्थीहरु निस्कन्छन् साना इटी कम्पनी बन्द ठुला चल्न नसक्ने अवस्था भए पछी ति तन्नेरीहरुमा बिशाल निराशा छाउने त्यस्को बिकल्प बिदेश हानिनु बाहेक अरु बिद्यार्थीहरुले ठम्याउन सक्ने छैन

मलाई त सोचेर पनि काहाली लागेर आउछ लौन सम्बन्धित मान्छेको कानमा छिटो बतास लाग्नु पर्‍यो ।


1/8/09

अष्ट्रेलियामा Miss Nepal र Mrs Nepal को भुर्चालो


नेपालमा माउबादिले यस्ता ब्युटी कन्टेस्ट गर्न नदिए पछी नेपाल बाहिर यस्ता प्रोग्राम खुब हुन थालेका छन्। गएको महिना Miss Nepal Australia सिड्नीमा भयो र अर्को महिना Mrs Inspirational Nepal Australia फेब्रुअरी १४ तारिकमा हुँदैछ। हुन त जिती सके पछी पनि अहिले सम्म देशनै उचो हुने कुनै नेपाल सुन्दरीहरुले केही नगरेको हुनाले पनि माउबादीले Miss Nepal event गर्न नदिएको हुन सक्छ।

अब बन्दुक र गोला चलाउने एक से एक सुन्दरीहरुका अगाडि बिचरा अरु सुन्दरीको के जोड चल्थ्यो र? एक महिनासम्म ट्रेनिङ लिए, आखिर क्यान्सिल नै भयो। यस्ता ब्युटी प्रोग्रामलाई लिएर मेरो बिचार ऋतुराज को जस्तै छ । मन पराउनेले हेर्छन्, मन नपराउनेले हेर्दैनन्। क्याबात् भन्नु पनि परेको छैन, वाहियात् भनेर झर्कनु पनि परेको छैन । पूर्णरूपेण तटस्थ!

तर कहिले काही यि स्पोन्सर गर्नेहरुले १० -१५ लाख मलाई दिए त कम्ती मा पनि ५००० महिलालाई कम्प्युटर मज्जाले सिकाउन पाउथे र ति मध्य करिब २००० ले त कम्प्युटर सम्बधी काम अवस्य गर्थे होला। २००० जना महिलालाई जागिरको अवसर दिनु नेपालमा ठुलो कुरा हो। जबकी beauty प्रोग्राम गर्दा जम्मा जम्मी २५-३० जना महिला भाग लिन पाउछन। यो सम्बन्धी मेरो कुनै बिरोध होइन तर देश अनुसारको भेष टाउको अनुसार केश भनेको जस्तै सोचेर लगानी गर्न सकिन्छ। अहिलेको अवस्थामा काठमाडौं जेसिसले मिस नेपाल आयोजना गर्न नपाए पनि महिलाको उत्थान हुने अरु प्रोग्राम गर्न सक्द्छ ।

Visit Similar to this post miss nepal

1/1/09

सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र?


हामी नेपाली सार्है उदारबादि
छौ। कुन चाड मनाउने कुन नमनाउने लेखा जोखा नै छैन। भ्याए सम्म सबै मनाएर उधुम छ। दसैं तिहार त सामान्य भए। भ्यालेन्टाइन डे, Christian नभए नि क्रिस्मस डे, फ्रेन्डशिप डे, रोज डे आदि इत्यादि डे। न्यू इअरको कुरा गरौ नेपाली न्यू इअर कसैलाई बाल मत्लब छैन। ईंग्लिश न्यू एअरको कार्डले मेरो सबै इमेल टना टन छ। सबैका ब्लग, फेसबुक, हाइ फाइभ न्यू इअरको शुभ कामनाले भरी भराउ छ। हन् कुन न्यू इअर मनाउने कुन नमनाउने , कुन न्यू इअरमा साथीहरुलाई शुभकामना पठाउने दुबिधामा परियो।

बैशाकको बिक्रम सम्बत् नया बर्ष बिदा हुने मनाउनै पर्ने, नेवार हरुको नेपाल सम्बत् पृथ्वी नारायण शाहले उपत्यका जित्नु भन्दा अगाडि देखी मनाउदै आएको पुरानो सम्बत् छोड्नै नहुने। ईस्बी सम्बत् भन्नै परेन, , जनवरी २५ तारिकमा चाइनाको नयाँ बर्ष, त्यस बाहेक नेपाल भित्र बिभिन्न जात जातीको आफ्नै नयाँ बर्ष जस्तै लोसार आदि इत्यादि। बा बा हो सकिन मैले त ।

भए भरको सबै मनाएर आँफै कती गाईजात्रे हुनु । लौ त तेही भएर मैले त नेपाल को बिक्रम सम्बत् मात्रै धुम धामले मनाउने र तेही न्यू इअरमा मात्रै शुभ-कामना पठाउने निर्णय गरे। कस्तो लाग्यो मेरो बिचार तपाईंहरु लाई?

12/26/08

Boxing day

२६ डिसेम्बर को दिन अष्ट्रेलियामा अचम्म किसिमको चाड हुने रैछ त्यो हो बक्सिङ डे । अब यो boxing day भनेको कसैलाई मुक्का हान्ने नभएर सस्तोमा सामान किन्ने दिन रैछ । जनतालाई सस्तोमा सामान किन्न यो दिन सार्वजनिक बिदा हुदो रैछ। यो दिनमा बिशेष छुट हुनाले मान्छेहरुले पसलनै रित्ताइदिदा रैछ्न । आफ्नो रोजाइको सामान किन्न मान्छेहरु बिहान ३ बजे देखी पसल खुल्नु अगाडिनै लाइन बस्छन। जो पहिला पुगेर सामान उठायो त्यो सामान उसैको हुदो रैछ।

यहाँको ब्रान्डेड् स्टोर जस्तै Myer, Gucci, David Jones, Louis Vuitton, Giordano मा ५०% छुट हुनाले मान्छेहरु मरी हत्ते गर्दा रैछन्।

myre, Bourke Street mall अगाडि बिहान ४:४५ बजे- photo-Craig Abraham

म पनि दिउसो तिर केही सपिङ् गर्नु पर्‍यो भनेर myer मा गएको थिए । एस्तो भिड थियो कि कुरै नगरौ । आफु त दुब्लो पातलो सानो मान्छे एउटा ढोकाबाट छिरे मान्छेले घचाटेर अर्को ढोकाबाट निकाली दिए झन्डै भिडमा थिचिएर मरिएन। अब सपिङ गर्न आए पछी त केही न केही त किन्न पर्‍यो फेरी ५०% डिस्काउन्ट भएको बेला मौका पनि छोप्नु पर्‍यो भनेर अर्को स्टोरमा सर्ट रोजे । पैसा तिर्न जादा त लाइन कहाँ हो कहाँ पुगेको मेरो पालो आउन करिब आधा घण्टा लाग्थ्यो यस्तो गरी गरी के किन्नु भनेर बाइ बाइ गरेर आए।

12/18/08

अध्याराका बारेमा बात

लोडसेडिङ्ले नेपालका आइटि प्रोफेस्नल लाई खुब प्रभाब पारेको छ। जती बेला पायो तेती बेला साथी मेसेन्जरमा प्वाक्क पुक्क देखिन्छन्। नेपालमा आइटि कम्पनी खोलेर बसेका एकजना साथी नेपालको अस्ती बिहानको करिब ४ बजे तिर अनलाइन देखिन्छन्। बिहान बिहान काम गर्ने जोस देखेर के हो आज त बिहानै देखी पैसा छाप्न लागिएछ त भने मैले । के के पैसा छप्नु नि हिजो सबेरै बत्ती गयो बत्ती गए पछी के काम सुतियो अब फेरी ९:३० बजे बत्ती जान्छ त्यसैले महत्वपूर्ण ईमेल र काम सकाउन बिहानै अलाम राखी राखी उठे भन्छन। चुनावको नतिजा निस्कने ताका उनी बडा जोसिएर बुझ्नु भो अर्चनाजी अब यो प्रचण्डले केही न केही गर्छ भन्थे। अनी मैले पनि तेही कुरा सम्झेर अनी
---प्रचण्ड के भन्छन नि भनेर मैले सोधे?
गफनै बढी गर्छ।
---हा…हा.. हा …… उसो भने नेपालको पत्रीकामा नआएको नयाँ कुरा सुनाउनु न त मैले भने।
अस्ती बत्ती नजाने पालोमा पनि बत्ती गयो रे । नो लाइटमा फोन गरेर झोकिएको त नो लाइटका मान्छेले प्रचन्ड लाई फोन गर्नुस् भन्दियो रे।

त्यस्तो ठाडो जवाफ पाएपछी बिचराको बोल्ती बन्द भएछ। अब कहाँ कस्लाई फोन गरी राख्नु। अब अस्ती भर्खर प्रचण्ड आँफै मैनबत्ती बालेर मीटिङ बस्दै थिए। हा.. हा.. फेरि हासो को फोहोरा उठ्यो।

जसरी हामी सजिलै हास्यौ । लोडसेडिङ्को पिडा तेत्तिकै दु:ख दायी छ तर जस्तो सुकै परिस्थितीमा पनि अनेक समस्याका बाबजुत पनि समस्याको हल पूर्ण रुपले नभएसम्म आफ्नो बेस्ट दिनु नै बुद्दिमान ठहरिन्छ

नेपालमा रहेका मेरा परिवार र साथीहरुलाई ७० घन्टे लोडसेडिङ् सजिलै सहने भगवानले शक्ति दिउन। जय जय जय धन्य छ प्रभु हाम्रो नेपाल!

12/16/08

बैंकले मेरो कुरो सुन्यो

Investment Bank मा बैंक अकाउन्ट हुने लाई त थाहा नै होला internet banking को पासवोर्ड चेन्ज भएको भनेर यस्तै बैंकका कुराहरुमा चित्त नबुझेर केही दिन अगाडि ब्लग लेखेको थिए। मलाई लागेको थियो कि यो नाथे ब्लग कस्ले हेर्ला र? तर कसरी कसरी बैंक को कर्मचारी सम्म मेरो ब्लग पुगेछ र त्यसपछी मैले पासवोर्ड पाउने आस्वासन पाए र केही दिनमै मैले पासवोर्ड पनि सजिलै पाए। अहो आफु लाई चित्त नपरेको कुराको त आवाज उठाउनु पर्ने रैछ भन्ने चेतना भयो!! एसो बैंकमा के भै रहेको छ भनेर बुझ्दा त सफ्टवेर चेन्ज गरेर त्यहाँका स्टाफलाई त ग्राहकहरुले आत्थु आत्थु पारेका रैछन। हुन पनि दैनिक जिबनमा चाहिने जस्तो कुरामा हतारो त गर्ने नै भए।

मेरो कुरा सुनेर बैंकको कस्टमर सर्भिसमा बसेकाहरु पनि मुसुक्क हास्न थाले कि? अनी धेरै लाइनमा बस्न नपर्ने गरी काउन्टर पनि बढाउदै छन् कि? जे भए पनि मलाई पासवोर्ड दिलाउन भर्पुर सहयोग गर्ने बैंकको कर्मचारी र साथी लाई धेरै धेरै धन्यबाद।

12/8/08

नेपालीपन जोगाउने ठेक्का नेपालीलाईनै

आकाना (यी गोराहरुले मेरो नाम भन्नै जान्दैनन् हामी भने यिनिहरुको भाषा सजिलै बोल्छौ यिनीहरुलाई जती सिकाए पनि नाम मात्र उच्चारन गर्न पनि कठिन छ) हो भन्दै जेस भन्ने यही बनाएकी साथीले फोन गरी र के लगाएर जान्छस भनेर सोधी छि कस्तो नेपालका आइमाइ जस्ता कही कतै जान पर्यो कि लुगा लागाउनेको ध्याउन्न भएको होला भन्ठाने। अनी एक्छिन चुप लागेर ..केही ड्रेस कोड भनेर सोधे? उस्ले भनी उम्म छैन! तर छोटो स्कर्ट घुडा भन्दा माथि, हाइ हिल भएको जुता अनी कपाल जगल्टाएको जस्तो (messy ) बनाएर आइज सेक्सी देखिन्छ, हामि पनि तेस्तै लगाउछौ भनी । मलाई त मुसुमुसु हासो उठि सकेको थियो अब यो अजिब हावा लाग्ने ठाउमा साप्रा देखाउदै स्कर्ट लगाउदा के हाल होला। त्यै पनि बादबिबाद नगरी ओके ओके भन्दै मैले हेरौला भने।

यो सबै लुगाको टन्टो क्रिस्मस पार्टीको लागि भएको थियो । क्रिस्मस आउनु अगाडिनै यहाँ करिब ५० जना IT Professional लाई भेला पारेर पार्टी दिन लागिएको थियो। त्यो पार्टीमा मलाई पनि बोलाइएको थियो। नेपालबाट प्रतिनिधि म मात्रै थिए त्यसैले मेरो जाने निस्चित नै भयो।

यो लुगाले पनि अचम्मै पार्ने रैछ। अमेरिकि राष्ट्रपतीकि श्रीमतीको पनि ओबामाले जित्ने बितिकै उनले लगाएको पहिरन, पहिरनको रङको बारेमा खुब चर्चा परिचर्चा भयो । हाम्री मन्त्री हिसिला यमीले जिन्समा सपथ खादा सबैले कुरा काट्नु काटे झन् हाम्रा प्रधानमन्त्रीले त नेपाली पोशाक दौरा सुर्वालनै किक आउट गर्दिएर टल्कने सुटमा अमेरिका समेत पुगे। सबै नेपाली लाटाले पापा हेरेको जस्तो हेरेको हेरेयै भए। अब आफ्नो भाषा भेष भुषा कस्ले बचाउने हो । जनता सबै अनेक फेसन गर्दै हिंड्ने बिचरा नेता मात्रै किन दश ठाउँमा तुना बान्दै हिडथे त। लौ खा त भनेर सुटमै टल्कन थाले।

बरु अब दौरा, चोलो, फरिया सबै म्युजियममा राखे भयो अबका पचास बर्ष पछी नयाँ पुस्ताले देख्न पाउछन होइन भने हाम्रो राष्ट्र भाषा अङ्रेजी, खाना म. म , बर्गर, लुगा सुट जिन्स भन्न बेर छैन ।

मेरो पार्टिमा जाने दिन आयो तर मैले आफ्नो थाइ देखाउदै स्कर्ट लगाउन सकिन मैले सारी लगाउने निर्णय गरे । मेरी बहिनीले त जिस्काउदै थि अब काग को बिचमा बकुल्ला हुने होला ल्यापटप समात्ने हो कि सारी समात्ने हो भनी आ…जे सुकै होस् भनेर म सारीमै गए । म पुग्दा त धेरै जसो आइसकेका रैछन् । म ढोका भित्र छिर्ने बितिकै सबैले ताली बजाए म त लाजले भुतुकै भए। पछि पो म एकदमै फरक ड्रेसमा भएकोले सबैले इज्जत दिएर पो ताली बजाएको भने। पार्टीमा खुब रमाइलो भयो मैले धेरै देशको IT Professional लाई भेटे र आफ्नो देशको बारेमा मैले सके जति सबैलाइ फुइ लगाए। हाम्रो देशमा बन्दुक चलाउने मात्रै होइन कम्प्युटर चलाउने पनि छन् भने र आफुले गरेको केहि प्रोजेक्ट पनि देखाए।

धेरैले खुब चाख मानी मानी म सँग फोटो खिचे कोही कोही आफ्नो देशको लुगा नलगाइ आएकोमा पछुतो मान्दै थिए। पार्टि सकियो म घर फर्केर ईमेल चेक गर्न बसे एकजना रसियाको जाभा डेभलपरको ईमेल थियो ईमेलमा “तिमी लाई भेटेर सार्है खुशी लाग्यो तिमी र म अब कहिले भेट्ने था छैन र तिम्रो अनुहार् म सम्झ्न्छु कि सम्झन्न पनि था छैन तर तिमीले लगाएको तिम्रो देशको राम्रो लुगा मेरो दिमाखमा सधैं रहि रहने छ”।

11/17/08

बैंकिङ् सेवा होइन सास्ती



दुई दिन भई सक्यो इन्भेस्टमेन्ट बैंकको ebanking login गर्न खोजेको मरिगए भएको होइन। password नै चेन्ज गरेछन्। password लिन अफिस मै जान पर्ने रे अस्ती भर्खर पनि चेन्ज गरेका थिए २ महिनामा समय मिलाएर गएको थिए। अब म नेपाल नगए सम्म बैंक अकाउन्ट चलाऊन नपाउने भए । password सेट गर्ने बेला ईमेल लिन्छन, ईमेलमा किन password पठाउदैन? किन मान्छेहरु लाई दु:ख दिएका होलान? website बाट १० चोटि ईमेल गरे होला मरी गए रिप्लाई गर्दैनन्।
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।

तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?

एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।

Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।

एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची बस्न जान्थे फेरी लाइनमा बस्न आउथे
नाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।

न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्‍यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।

नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए । आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए । सोचे अब ३-४ दिन त लागिहाल्छ। commenwealth भन्ने बैंकको ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन । म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।

धेरै कुर्नु पर्‍यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला। म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।

आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। आफु ग्राहक भएर मान सम्मान पाएकोले मक्ख पनि भए। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन, कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।