4/13/08

नयाँ नेपालको लागि नयाँ प्रतिनिधि

चुनावको नतिजा धमाधम आइ रहेको छ। मावोबादीहरुले भकाभक जिती रहेका छन। जनता/ नेताहरु मावोबादीका धेरै ठाउँको जितले चित खाइरहेका छन्। झन् काग्रेस र एमालेका नेताहरु त सपना हो कि भनेर चिमोट्दा हुन्। कहिलै नाम नसुनेका झक्कु प्रशाद सुबेदीले काठमाडौं क्षेत्र नं २ बाट जित्दा त बिचरा एमालेका महासचिब माकुनेको होसै उडेर राजिनामा सम्म दिए।
राजनीतिको प्रत्यक्ष असर देशलाई परेको हुनाले होला, बच्चा देखि बुढा सम्मलाई अब के हुने होला भनेर चासोको बिषय भएको छ । झन् अहिले नेपालका ५-६ वटा टि.भी च्यानल हुनाले पनि छिन् छिन् को अपडेट फनफनि रिमोट घुमाएर हेर्न कम्ता गजप भएको छैन। नयाँबर्षको आगमन सँगै नसोचेको नतिजाले सबैलाई रोमान्चित पारेको छ कत्तिले त ठीक्क पर्‍यो अब जनताले सबैलाई ठीक पार्छन “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दल लाई एक एक मौका दिईसके अब मावोलाई हेर्ने पालो भनेका छन् अब यिनले पनि गतिलो काम गरेनन् भने फेरी यिनलाई पनि जनताले घोक्राउने छन् र नयाँ नेता एंवम रुपले चुन्ने छन् ।

नयाँ बर्षमा नयाँ नेपाल बनाउनको लागि छानिएका नयाँ प्रतिनिधि र नयाँ उमङ्ग लिएर बसेका सबैलाई मेरो शुभकामना!!

4/10/08

election update

विश्व लाई नै चकित पार्ने गरेर एतिहासिक चुनाव सम्पन्न भयो। जिम्मी कार्टर लगायत सारा विश्वले नेपालको शान्ती पूर्वक सन्चालन भएको चुनाव हेरेको हेर्यै भए।

चुनावको अघिल्लो दिन सम्म पनि के के न होला भनेर सबैमा त्रास थियो तर नेपालमै पहिलो पटक भएको सम्बिधान सभाको चुनावमा सहभागी हुन उत्साह पनि कम त थिएन। मेरो क्षेत्र न. ३ पर्दछ त्यहाँ करीब ६:३० बजे देखी लाइनमा मानिसहरु बसेका थिए । बिहान पख एकदम भिड थियो सबै जना समयमै भोट दिएर ढुक्क भएर बस्न चाहन्थे।
म करिब ११ बजे तिर भोट हाल्न जादा लाइन लामै थियो। पुरुष को भन्दा महिला को लाइन लामो थियो। के बुढा के युवा के जवान सबैको अनुहारमा एक किसिम को उत्साह देखिन्थ्यो । टाइफाइड् भएर बिरामी परेका पनि आफ्नो अमुल्य भोट खसाल्न आएका थिए ।


गर्मीले गर्दा सबै जना छाता ओढेर बसेका थिए र बेला बेलामा त्यहाँका volunteer ले पानी पनि सप्लाई गरी रहेका थिए। रातो घेरा भित्र म। करिब १ घन्टामा मेरो पालो आयो। लाइनमा बस्दा आइमाइहरु गफिदा समय बितेको पत्तै भएन।

यि ७० बर्षका बुढाले त एक घण्टा त्यस्तो प्रचन्ड गर्मीमा लाइनमा बसेर भोट हाले ।

केटा केटी हरु पनि आफ्नो आमाहरुको पछी लागेर रमाइलो हेर्न आएका थिए। बुढा बुढीहरुलाई बिशेष रुचीका साथ आएका थिए कसलाइ बोकेर ल्याइएको थियो कसैलाइ हात समातेर ल्याइएको थियो। उनी हरु भन्दै थिए आफु मर्ने बेलामा भबिस्यका सन्ततिलाई उज्जल नेपाल छोडेर जान चाहेको इच्छा राखे ।