6/12/10

जस्ले जिते नि हाम्लाई के?

जाउलाखेलमा बसे पनि खेल तेती हेरिन्न। बिस्वकप फूटबलमा नेपालमा तथा अरु देश का बासिन्दाको निन्द्रा हराम गर्देको छ। नेपालले भाग लिन नपाए पनि सबैले आफ्नो आफ्नो मन पर्ने देश छानेका छन्। मलाई चै हिजो कोरियाले जितोस जस्तो भाथ्यो ठ्याक्कै जित्यो।

फूटबल हेर्नेमा कोही कोही साचिकै खेलाडी र टिम बुझेर सपोर्ट गरेको देखियो भने कोही कोहि चाँही जुन टिमले जित्ला जस्तो लाग्छ, तेही टिमको गाना गाएको देखियो तर नेपालमा जस्तो घर घरमा ताम झाम चै मैले अष्ट्रेलियामा देखिन। एउटा बुद्दिजिबिको फेसबुकमा लेखेका थिए, नेपालीको भाग्य भन्नु नै अरु देशको प्रगती देख्न पाउनु हो रे। हुन पनि हो नेपाली सार्है दिलदार अर्काकै जितमा पनि दङ्ग परी दिन्छम ।

४ बर्ष अगाडि को विश्वकपको म्याच भै राथ्यो आफु तेती घोरिएर फूटबल नहेर्ने हुनाले बहिनी अष्ट्रेलिया आउने सप्पिङ् गर्न न्यू रोड तिर निस्केका थियौ। बिदेश जाने भन्यो कि एक सुट्केस सामान त किन्नै पर्‍यो। जाडोमा लाउने, गर्मीमा लाउने, भित्री, बाहिरी आदी इत्यादी। सस्तो होलसेलमा पाईन्छ भनेर रन्जना गल्ली तिर छिरियो धेरै जसो पसल त बन्द थिए कोही कोही खुल्ला थिए हामी गल्ली गल्ली हिड्डै थियौ। गो।।।।ल को आवाज सबै घरतिरबाट आयो ह्वआरररर पानी त् झ्यालबाट पो खनाए। ए बाबा होली त अगाडि पछाडि कतै थिएन किन यसरी भिज्ने गरेर पानी खनाए होलान ह ? फेरी अर्को गोल भएछ गो।।।।ल ढ्याङ् ढ्याङ् ढ्याङ् केही ठोकेको जस्तो आवाज…फेरी अर्को झ्यालबाट पानी ह्वआरररर…. हा।।। अब यो बेमौसमको होलीले हामीलाई टेनसन दियो र अब यो गोलको सुरमा बाटोमा पानी खनाउदा हामी घर सम्म पुग्दा पुरै भिज्ने पक्का थियो तेसैले नजिकैको रेस्टुरेन्टमा छिरेर तातो तातो म.म खाँदै बाँकी म्याच हेरेर सके पछी घर तिर फर्कियो।

हुन त जुन देशले जिते नि हाम्लाई के हुन्छ र? तै पनि रमाइलो र बुझ्न सजिलो भएकोले नेपालमा धेरै जसोले हेर्ने गर्छन्। मलाई नि आSSSS कोरिया ले नै जितोस जस्तो भएको छ ओर्ल्ड्कप ।के त हैन सपोर्ट गर्दैमा के बिग्रियो र? ब्राजिल , स्पेन, फार्न्स, अर्जेन्टिना यिनलाई सपोर्ट गर्ने त धेरै होलान।

ल ल हेर्नुस् मजा लिनुस् तर रन्जना गल्लीको मान्छेहरुले पानी बाटोमा नखनाउनुस् नि । बाटोमा मान्छे नि हिड्छन नि हो।

6/10/10

बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे


नेपालमा दिन दिनै लोप हुँदै गएको जङली जनावर बाघको बारेमा वेब साइट बनाउदै थिए । हुन त यो नाथे वेबसाइटले के बाघ बचाउथ्यो र? तै पनि सानो तिनो इन्फर्मेसन दिनको लागि डाटा खोज्दै थिए। एक दिन अनलाइन मेरा साथी पिटर भेटिए। उनी Philadelphia, US का लोकल कबि हुन। मलाई बाघ मन पर्ने र नेपाल तथा विश्वबाटनै लोप हुन लागेकोले बाघ बचाउको अभियानको नारा सहीत वेबसाइट बनाइ रहेको कुरा पिटरसँग गरे।

उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबिता लेखेर सहयोग गर्ने बाचा गरे र त्यो अनुरुप २ बर्ष अघी उनले थुप्रै बाघ सम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
बन्यो।

यो काम मैले पैसा र वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे । पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागि कबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेर टन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो किताब समर्पित भनेरनै निकालेर सरप्राइज नै दिए।

अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।

उनले किताब तथा बिक्री गर्न राखेको वेब साइटमा नेपालको बाघ बचाउनको लागि समर्पित कबिता भनेर
राखेका छन।

नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छु। पिटरलाई म तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै धन्यवाद!!

Peter we would like to thank for writing tiger poems to save the tiger of Nepal :)


6/5/10

अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो रे


“हेर्नुस् बाहिनी हामी मागरको बुद्धी हुन्न आरु जातका धेरै जसो काती ठुला ठुला ठाउँमा पुगिसके तर हाम्रा जात उही पलटनमा बन्दुक पड्काउने मात्रै ठुलो काम भो। हन् है बाहिनी हामी आफ्नै फुपु चेलीको छोरी बिहा गरेर बिज्ञाननै बिग्रेको हो। आलिक पर परको जातको नानी सँग बिहा गरे पो चल्ला चल्ली राम्रो निस्किन्छ गाठे"
एउटा मगर अंकलले यो कुरा भन्दा उनले साच्चै कती बैज्ञानिक कुरा गरे है भनेर खुशी साथ सुने।

- पचास नागेका ति अंकलको कुराले हौसिएर, कत्तिनै ठुलै काम गरेको जस्तो भनी हाले मेरो र मेरो केटाको जात पनि मिल्दैन अंकल भने ।

- ए तापाईं त भैंसी खान्छ हइन? अंकलले अली नाक खुम्चाउदै सोधे ।

- भैंसी त होइन रागो खान्छु, तपाईं पनि खानु हुन्छ होला नि छोएला? भैसि भनेकोले कड्किएर मैले सोधे

फेरी रागो बिना मो.मो को जीवन अधुरो नै हुन्छ नि ;)

- खान्छ नि किन खाँदैन। त्यो सोर्ह खुट्टे ओरालोको छोयला त आसाध्य मिठो छ। मुखै रसाउदै पो ति अंकल ले भने

- अनी बाबु कुन जात को राइछ त?? अलिक चासो देखाउदै सोधे।

- शर्मा हो नि मैले भने

- ए आच्छा!! भन्दै टाउको हल्लाए

- अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो निस्किन्छ हो अंकलले भने

हुन त एउटै जातकोबाट पनि बच्चा बच्ची नराम्रो निस्किने होइन। तर यो जात भातको कुरा नेपालमा अहिले पनि ठुलै रुपमा हेरिन्छ। यदी तपाईं पौड्याल हुनु हुन्छ र विश्वकर्मा बिहा गर्नु भएको छ भने काण्ड पुग्यो। यो नेपालको चलन देखेर म वाक्क, ब्याक्क, प्याक्क भैइ सके । सबै लाई राजनिति ह्य्यान त्य्यान कै पिरलो छ तर समाजमा यस्तै खाले भाईरसलाई जोडतोड सँग बचाउने अभियान हुन्छ। मैले एती सम्म देखेको हुँ कि आजको युबा पुस्ताले आफुले प्रेम गरेको प्रेमी र प्रेमिका पनि अन्तरजातिय हुनाले समाज र बाउ आमाको करकापले छोडेको पाएको छु।

बाउआमा समाजको इज्जत गर्नु पर्छ तर त्यस्को साथ साथै आफ्नो आमा बाबुलाई मायाले सम्झाउने र समाज परिवर्तन गर्ने जिम्मेवारी पनि युवायुवतीकै हातमा हुन्छ। मेरो पनि अन्तर्जातिय बिहा हो। मलाई पनि अली अली बाधा आए होलान तर हामीले बिचार पुराउनु पर्ने कुरा के हो भने, बाउ आमाले भनेको मान्नु पर्छ तर जिन्दगी बिताउने कुरामा चाँही निर्णय तपाईंले नै लिनु पर्छ। कसै सँग डराएर आफ्नो निर्णय बदलनु त्यो कायरता मात्र हो।

p.s कृपया यो मगर जातिको फुपु चेलीको छोरा छोरी सँग विवाह चल्ने कुरा नेपालमा अहिले पनि हुन्छ? जानकारले प्रस्ट पारी दिनु होला।



5/18/10

तपाईंले खाना खानु भयो त?

Hi how are you? - आफु लाई कस्तो दु:ख छ। पैसो कमाउन सकिएको छैन, दिन प्रती दिन उमेर ढल्कदै छ। यो नेपालमा पनि संबिधान बनाउन सकेका छैनन् । मनको बह कसैलाई नकह भने झै सबैका आ-आफ्ना दु:खका फर्सी छन। तर पनि I am good, yourself? भनेर डिच्च हास्नै पर्ने। दिनको एक चोटि हो र? बारम्बार यो प्रकृया दोहोराइ रहन पर्ने।

पहिला पहिला अष्ट्रेलिया आउँदा त जहाँ जादा पनि आफ्नो आराम बिरामीको कुरा सोध्दा खुशी लाग्थ्यो। तर कहिले काही त आ#$$ दिनमा एउटै कुरा दोहोराउदा दोहोराउदा वाक्स पनि लाग्थ्यो। तर ठिकै छ आफ्नो आफ्नो देशको चलन हो भनेर सोच्थे । मेल्बर्नमा तपाईं पसल, अफिस बैंक अथवा काही पनि जानुस् तपाईंलाई कस्तो छ आज भनेर सोध्छन अनी मौसमको कुरा हुन्छ। आज कस्तो गर्मी दिन है, भोली त पानी पर्ने वाला छ नि, अनी खेलकुदको बारेमा पनि कुरा गर्छन् । ए भोली त यो म्याच छ नि? आफु फेरी खेलकुदमा जिरो। यस्तै yea, no, surely , really मै टारिन्छ।

नेपालमा SLC दिने ताका कौसीमा किताब छरपस्ट पारेर पढिन्थ्यो। पढ्ने भन्दा किताबको शो बढी हुन्थ्यो। यो पढ्ने काम संसारमै सबै भन्दा गाह्रो काम जस्तै लाग्थ्यो।
कौसीमा आमा पनि सङ्गै घाम ताप्दै बस्नु हुन्थ्यो। उता अर्को कौसीबाट मगर्नी आन्टीले
ए अर्चनाको मामी भात खायो?
यता कौशी बाट : खाए, तपाईंले खानु भयो?
उता कौशी बाट : छैन नमिताको बाबालाई कुरेको।

कौसीमै बस्दा बाटोमा हिंड्ने छिमेकीले आमालाई बिहान छ भने चिया खानु भयो, १० बजे तिर छ भने खाना खानु भयो र दिउसो छ भने खाजा खानु भयो भनेर सोध्थे।

एक दिन दुई दिन भए पो त दिन दिनै खानाको कुरा सुन्दा सुन्दा वाक्क लाग्थ्यो कहिले काही प्वाक्क पछाडिबाट भनी हाल्थे सोमालियाबाट आयातित प्राणिहरु!!! आमा मुसु मुसु हाँस्दै भन्नु हुन्थ्यो, अब के गर्ने सोधे पछी भन्नै पर्‍यो।

हाम्रो चलन पनि गजब कै छ है। सन्चो बिसन्चो गोली मारो। खाना खाएको र नखाएको नै पहिला सोध्ने। ठिकै छ आफ्नो सस्क्रितीलाई नै जोगाउ न त।

अनी तपाईंले खाना खानु भयो त? ;)

5/9/10

हिसाब किताब

अस्ती अस्ती दिनभर दिनभर सगरमाथा टि.भी लाईभ हेरेर राती त प्यानाडोल(सिटामोल जस्तै) खाएर सुत्न पर्‍यो। दिनभर जुलुस र आमसभा हेर्दा हेर्दा राती त टाउको दुखेर औषधीनै खान पर्‍यो। अब टि.भी हेर्दा त टाउको दुख्ने, झन साचिकै आन्दोलनमा हिंड्ने र भोग्नेलाई टाउको मात्रै होइन, के के दुख्यो होला।

साथीले भन्थ्यो, फेसबुकमा जे पायो तेही नलेख है माउदाईले सबैको हिसाब किताब राख्छन रे। मलाई त काठमाडौंबाट पोखरा बसमा जादा खलासि दाइले आधा बाटोमा पुगे पछि हिसाब किताब गर्न ओर्लनु होस् है भन्थे। सबजनाले बुझेर दिसा पिसाब गर्न झाडी तिर पुग्थे। तर यो चाँही हिसाब किताब त मैले बुझिन यार।

राखुन राखुन अन्याय बिरुद्ध ईन्द्र कै बाउ चन्द्रको बारेमा नि लेखिन्छ नि । अब हिसाब किताब राख्नलाई साना तिना कापी अथवा नोट बुकले अथवा साना तिना हार्ड डिस्कले पुग्दैन ठुलै सर्भरनै चाहिन्छ। ल अब तपाईं आँफै हेर्नुस् त सात कक्षा पढ्ने सानी नानीले फेसबुकमा यस्तो स्टाटस राखेको देखेर त म दङ्ग खाए।






चुनाव
ताका मैले एउटा पोस्टमा लेखेकि थिए - “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दललाई एक एक मौका दिनेछन् , दिएको मौकामा पनि गतिलो काम गरेनन् भने जनताले घोक्राउने छन् र नयाँ दल/नेता एंवम रुपले चुन्ने छन् ।

अब यार कस कसका हिसाब राख्ने तिमिनै राख, आफुले बोलेको पनि हिसाब, राख प्रधानमन्त्रीको कुर्चीमा पनि तिमिनै बस, देशको नाम पनि तिमीनै राख, जनताको मनमा पनि तिमीनै बस।

A man's country is not a certain area of land,
of mountains, rivers, and woods,
but it is a principle; and patriotism is loyalty to that principle. - George William Curtis

5/6/10

बन्द - करेला जस्तो पोशिलो तितो होइन, बिष जतिकै हानीकारक

आहा!! कती नेपाल मात्रै बन्द हुन्छ, कहिले काही यो अष्ट्रेलिया नि बन्द हुनु नि । मरी गए हुन्न यार २०१२ सम्मको सार्वजनिक बिदा फिक्स छ। कस्तो देशमा आएछु न बन्द हुन्छ न हड्ताल हुन्छ। आहा!! नेपालनै राम्रो!! ;)

नेपालमा सप्पै भन्दा त स्कूललाई सन्चो विद्यार्थी न आएनी फी किर्दिन्छन क्यार सर मिसलाई झन हाइसन्चो, घर मै बसी बसी तलब आउछ अब बन्द हड्ताल भयो त के गर्नु केटाकेटीको पढाई सकिदैन । लास्टमा फास्ट फरवार्ड् गर्दै पढाउछन् नि। भबिस्य अन्धकार भए केटाकेटीकै हुन्छ नेताजिउहरुलाई छु मतलब। एनी हाउ कुर्ची पाउ ।

केटा केटी नि बन्दका सुरुका दिनमा खुशीका स्टाटस फेसबूकमा देखिन्थे। अहो स्कूल जान नपरेको दिन बडो रमाइलो हुन्छ नि तिनलाई पढ्न त वाक्क हुन्छ नि ।

माउदाईले गरेको बन्दले स्कूल नि बन्द क्या मज्जा आखिर बाउआमाले त जसो तसो फी तिर्देकै छन् तर वास्तविकता करेला जस्तो पोशिलो तितो होइन, बिष जतिकै हानी कारक छ। अब त केटाकेटीले पनि क्या बोरिङ्ग स्कुल जान मन लागि सक्यो भनेर फेसबूकमा स्टाटस राख्न थालि सके । यो जस्तो ब्यङ्ग अरु के होला ?

केटा केटी साना अबुझ तिनलाई राजनिती था नहोला तर मैले पढ्न पाउनु पर्छ, मैले फी तिरेको छु र यो मेरो अधिकार हो भन्दा नि किन कुर्ची मोहले आँखा ट्याप्पै पारेको होला। जनताको पार्टी रे । जनताको लागि लड्ने पार्टी रे । अनी जनताकै टाउकोमा बजाउने कस्तो बुझी नसक्नु मनोबैज्ञानिक बिचार धाराका पार्टी??? आफुले त देश राम्रो चलाऊन सकेनन होला तर भबिश्यका हुने वाला होनाहार देशका नेता तथा राजनेताको भबिस्यलाई किन गोल हान्देका होलान्? जुन भाबी सन्ततीको लागि लडी रहेको भन्छन र तिनै सन्ततीको टाउकोमा बन्चरो हाने पछी अब के होला? तपाईं आँफै सोच्नु होला। मेरो त दिमाखले भ्याउदैन् । आ सुत्छु बरु।

my beloved i love you. love is my message and let it be your message too.
love is my color, climate and to me love is the only religion.
my world is love and i would like you to feel whole world with love......

4/29/10

उहा मेरो पोइ

दुइजना जोडी जोल्टिएर हिंड्नै नहुने अलिक परका नाताका आफन्त बाटोमै भेटिए । हात समातेर हिंडेकोले होला, उहाचाँहीको भनेर सोधे । ति आफन्त सार्है अड्बाङ्गे थिए । मैले नि उहा मेरो पोइ भनेर देखाए । भोज खान पल्केकालाई नबोलाएकोले होला, विश्वाश मानेनछ्न् फेरी मेरो पोइलाईनै सोध्न खोज्दै थिए, उनले कुरा बुझेर जवाफ दि हाले अली जिस्किदै, उनी मेरो पोइनी। तिनी हासेर झन्डै मुर्छा परेनन्। तिनी आफन्त हाँस्दै थिए, हामी आफ्नो बाटो लाग्यौ ।

पोइनी होइन नि श्रीमती अथवा स्वास्नी भन्न पर्छ नि। यस्तो पुरा पुरा गलत वाक्य भन्यो भने हाम्रा नेपाली भाषाका ज्ञाताहरु धुरु धुरु रुन्छन् नि भनेर आफ्नो मान्छेलाई सम्झाए।

अब
तपाईंहरुले पनि बुझ्नु भै सक्यो होला, के भन्न खोज्या भनेर खासमा मेरो पद girlfriend बाट जोइको रुपमा प्रमोसन भयो । साथीभाई कसैलाई बोलाइन साधारण तरिकाले आफन्तमाझ मात्रै बिहा भयो । तेसैले ठुला ठुला धम्की र खप्की खान पर्‍यो । बिहाको भोज नखुवाएकोले झन्डै ज्यान जोखिममा परेको। ;)

यो सप्पै कुरा लेखी रहदा मेरा पतीजीले घरको आन्तरिक कुरा जम्मै ब्लगमा छाप्यो भनेर ठुलै मुद्दा हाली बक्सदै छ । अब त्यो पनि खप्नै पर्‍यो। ;)

आजलाई इती
Mrs.Sharma

"A successful marriage requires falling in love many times,
always with the same person."

4/24/10

प्रचण्ड भन्दा काले कुकुर राम्रो रे

कहिले दसैंको शुभकामना नपठाउनेहरुले यसपाली घोर्ले खशी र नयाँ नाना पठाए। नेपालीको २०% आमाहरुले नि फेसबूक हेर्छन कि हेर्दैनन् था छैन तर फेसबूक भरी आमाको मुख हेर्ने दिनको शुभ-कामना प्रचार प्रचार भएको थियो । सबैभन्दा मलाई हासो उठेको त फ्यान पेज हो ।

यार जे को पनि फ्यान पेज हुने अब कलाकार, नेता, कबी, लेखकको त हुने नै भो । ताल न बेतालका कुरामा पनि हजारौ मान्छे फ्यान हुने । जस्तै यसपाली पनि कलेजमा झुर केटी आए , के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ, कस्तो भोक लाग्यो के खाजा खाने होला, मलाई प्रचण्ड भन्दा काले कुकुर मन पर्छ, ओए भोक लाग्यो मो:मो खान जाम न आदी इत्यादी

कहिले काही त हासेर मर्नु हुन्छ, तेही पारा देखेर होला, फ्याननै शब्दको बेज्जत गरे भनेर होला फेसबुकले Be a Fan हटाएर Like भन्ने बटन मात्रै राखेको छ । फेसबुकको फाईदा नि छ है, हिन्दी फिल्ममा जस्तो शुरुमा छुट्टीएर अन्तमा भेटेजस्तो कैले कैले स्कुलका साथी ट्याक्क भेटिदा त दङ्ग पो परिन्छ गाठे । साथी मात्रै होइन साथीका पती र छोरा छोरीको फोटो ड्याम्म देख्दा त happiness double पो हुने रैछ ।

सुन्छु यो फेसबुकले नि धेरैको समय बर्बाद पारी सक्यो रे। अफिसमा काम धन्दा छोडेर उही फेसबुकमै बेस्त हुन लागे भनेर धेरै जसो अफिसमा त आज भोली फेसबुकनै ब्लक गर्दिन्छन् । काम गर्ने नि के कम, फेसबुक चलाऊन नदिने भे काम गर्दिन भनेर बिरोध गरेको समाचार अस्ती भर्खर पढेकी थिए।

म पनि आज देखी जम्मा १० मिनेट मात्र फेसबुकलाई टाईम दिने कसम खाइ सके , आलुको कसम्!! ;)

3/19/10

छ्यास् छ्यास् छुस छुस हररर

यतिका दिन ब्लग अपडेट नगरदा यो ब्ल्गर्नी कता दमपच् भैछ भन्ठान्नु भएको होला। नेपाल गएकै दिन घरमा झोला फालेर न्यूरोड घुम्न गै हालियो। भोलीपल्ट देखी त रुघा खोकी सुरु। अनी त बाँदरको...…जस्तो रातो नाक लिएर भए पनि घुमियो । मेरो नेपाल पुग्ने बित्तिकै ३ वटा कुरा गर्ने टार्गेट थियो।
एक न्यूरोडको सि मो.मो खाने, दुई मुङ्लिङको चना चट्पट खाने, अर्को नेवारी खाना खाने । यि सबै कुरा त पुरा गरे। आमाको गन गन बाँकी नै थियो। एक दिन घर बसेन लखर लखर हिडि राख्ने। यसो गफ पनि गर्न पाइएन भन्ने। धन्न सोमबारको दिन थियो राप्रपाले त नेपाल बन्द गरिदियो अनी त घरमै जोमसोमको सम्झना लेखेको गलैचा माथि घाम ताप्दै आमासँग गफ मार्दै ढाड्को पाता सेकाउदै आमाको इच्छा पनि पुरा गरियो।

काठमाडौंजादै हुनु हुन्छ भने ४ कुरा सम्झनु होला।

१. काही कसैलाई भेट्न जानु छ भने १ घण्टा अगाडि निस्किनु होला अथवा तपाईंको घडी जाम अनुसार चलाए पनि हुन्छ।

२. एअरपोर्टबाट ओर्लने बितिकै मास्क लगाउनु होला नत्र भने रातो नाकको पिडा तपाईंले पनि खप्नु होला।

३. यती पैसा भए त पुगी हाल्छ नि भनेर डलर convert गर्दै मक्ख नपर्नु होला महङीले आकाश छोएको छ पैसा अली अली कोप्चे खल्टीमा पनि जगेडा राख्नु होला।

४. बिदेशमा दिन दिनै सावर लिने बानी छ भने, काठमाडौंमा त्यो सपना नदेख्नु होला, perfume र bodyspray छ्यास् छ्यास् छुस छुस पारेर हररर बासना आउने भएर हिंड्नु होला।

इती


pic: c momo :)

2/6/10

आमाको रेस्टुरेन्टको भात मिठो बाउको होटेलमा निन्द्रा प्यारो

म अष्ट्रेलिया आएको दुई महिना पछी मेरो आमाले ईन्टरनेट चयट् पारिदिनु भएछ। घरको वरीपरी झ्यालट्याङ झुल्टुङ सेतो तार, घरमा छोरी छन्जेल पो ए!! छोरीले बिदेशी प्रोजेक्टमा राती घरबाट काम गर्छे नि तेसैको लागि तार हो भनेर गर्वका साथ लाग्छ कि छोरीले सगरमाथानै चढेकी हो जस्तो गरेर कौसीबाटै बाटोमा हिंड्ने छिमेकीले सोधि हालेको खन्डमा भन्नु हुन्थ्यो। म चाँही किन त्यस्तो भन्न पर्छ र भनेर आँखा तर्दै चिढिन्थे।

आज राती सपना देखेकै भरमा मेरो बिहान नेपाल जाने टिकेट १५ मिनेटमा फिक्स भयो। नेपालमा सरपराइज दिने प्लान थियो। आफुसँग नेपाली रुपैयाँ खोतल खातल गर्दा २०० मात्रै भो। नेपालमा यस्तो महङ्गी बढेको बेला २०० रुपैयाँले त मलाई माथि एअरपोर्ट बाट तल ठुलो बडेमानको गेट सम्म पुराउछ होला । अस्ती साथीले एअरपोर्ट बाट चाबेल गएको सात सय तिरे भनेको पनि बिर्सेंको छैन नि। यस्तो बिचल्लीमा पर्न भन्दा अब यो सरपराइज दिने प्लानलाई गोलखाडी खुवाउदै घरमा फोन हाने। नेपालमा टेलकमको आशिर्बाद र मेरो आमाको माधको घाम ताप्ने सेडुवल मिलाउदा मिलाउदा ३ घण्टा सम्म फोनसँग फाइट गरे पछी बल्ल मेरो आमाको हेल्लो सुनियो।

-> ल भगवान भेटे जस्तो भयो मैले भने

->मेरी आमा उताबाट हेल्लो कस्लाई खोज्नु भयो होला..? रे।

->ममी.. छोरीलाई चिन्न छोड्नु भयो? अली आफ्नो हक जमाउदै कड्किए।

-> ए कस्तो अर्कै स्वर सुनिएको घाटी बसेको छ क्या हो। चिसोमा डुलिस कि क्या हो

उताबाट सधैं झै हावामा तिर हान्दै गरेको उत्तर आयो।

यहाँ आफु मर्ने गरेर कराउदा नि घाटी बसेको सुनिने फेरी यता त गर्मी यस्तो छ कि लगाएको लुगा नि कता फालेर हिडु जस्तो मौसममा कता चिसो अब यि सब कुरा प्रस्ट पार्न मलाई आधा घण्टा लाग्थ्यो जुन रिस्क मैले लिन चाहिन् ।

-> सिधा कुरा गर्न लागे, म नेपाल आउँदै छु पर्सी मलाई लिन गाडी पठाइ दिनु।

-> उता बाट जवाफ आयो ईन्टरनेट छैन।

-> ईन्टरनेटबाट आउने हो र ? प्लेन बाट आउने हो।

आडे छोरीको आडे जवाफ ;)
यो अर्थ न बर्थमा बिचमा ईन्टरनेटको कुरा गरेर मेरो ३ घण्टा सम्मको फोन सँगको लडाईंको रिस तेही पोखी राखेको थिए।

-> फेरी उताबाट जवाफ आयो होइन क्या, मैले अस्तिन घर राम्रो देखिएन तार नै तार भयो भनेर काटी दिए अब तिमी आउने भयौ फेरी भाई लाई भनेर जोड्न लगाइदिउ?

उता बाट मेरी आमाले आफ्नै हजुर बुवा को isp भएझै भन्नु भो।


-> पर्दैन पर्दैन ल… अब यो…टाइममा लिन पठाइ दिनु। ल राखे।
घड्याप्प्!!

बाउ आमालाई छोराछोरीलाई के चाहिन्छ भनेर कस्तो प्रस्ट था हुन्छ। हुन पनि त्यो महिना को २५०० तिरेर त्यो ईन्टरनेट घरमा पालेर केही काम थिएन। कहिले काही भाईले porn site हेर्दो हो नत्र भने आमाले भनेको जस्तो, म नभए पछि तारले घरको सोभा मात्र बिगारेको थियो।

यस्तै बाउ आमा गर्दानै छोरा छोरीलाई तान्ने गर्छ अनी सपनामा देखेकै भरमा उडेर जान मन लाग्छ । उही कलेज ताकाकै बेरोजगारि भाषामा
आमाको रेस्टुरेन्टको भात मिठो, बाउको होटेलमा निन्द्रा प्यारो !!
जहाँ गए पनि आमा बाउनै प्यारो। (यो चाँही मैले पछी थपेको है)

2/4/10

लब गरेको था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला

यो मौसमनै रोमान्टिक तर नेपालमा जस्तो यहाँ भ्यालेन्टाइन डे को चहल पहल देख्दिन। बाइकमा केटीले केटालाई कहाँ लौ है फुत्केला र फुत्क्यो भने चान्स छैन जस्तो गरि चेपेर हिंड्ने, माइक्रोमा पनि लास्टको सिटमा अरुको वास्तानै नगरेर एक दुई चुम्मा दन्काइ हाल्ने । अनी खुले आम अङालो हालेर हिंडेको सिन कहाँ देख्न पाउनु, देखे पनि खै किन हो मलाई यहाँको जोडीमा रस भेट्दिन।

माया गर्नु कुनै पाप होइन झगडा पो गर्न भएन भनेर अरुले देखाउछन् भने आँखा छोपेर गान्धरी बन्न सकिन्न क्यारे। भ्यालेन्टाइन डे आउँदै छ मलाई पनि आफ्नो दिन हरु याद आयो। २००० साल तिर म र मेरो bf कलेज पढ्दै थियौ। कलेज बिहानको 7 बजे देखी सुरु हुन्थ्यो तर म ५ बजे नै घर बाट हिड्थे। जाउलाखेलबाट मैती देवी जान पर्थ्यो। सिधा बाटो गयो भने २ वटा माइक्रो चेन्ज गरेर करिब ३० मिनेटमा ठ्याकै कलेज पुगिन्थ्यो। तर म कहाँ सिधा बाटो हिडथे र?

छोरीको लब पर्-या छ भनेर बाउ आमा लाई कहाँ था' हुनु, था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला। घरबाट पढ्न भनेर बिहानको ५ बजे हिंडेपछी, एकान्त कुनाबाट रिङ्ग रोड घुम्ने बसबाट ५ रुपियामा चाबेल पुग्थे र त्यहाँ दुबै जना भेट भएर हिड्दै मैतीदेवी पुगिन्थ्यो । यो सबै चाँही पैसा बचत अनी दुई जना सगै भेटेर गफ गर्दै हिंड्ने अनी चिया/कोकको लागि पैसा बचाउ अभियान थियो। मेरो दैनिक घर बाट आउने बजेट २० रुपैयाँ थियो। तेहीबाट सबै म्यानेज गर्न पर्थ्यो। २००० को भ्यालेन्टाइन डे मा पनि यसरी नै आइयो। अब यो गिफ्ट सिफ्ट दिने लिने चलन झन्झटिलो र खर्चालु भएको हुनाले, दुबै जनाले यो कुरा लिन र दिन मनाही थियो । लाग्छ कि घुसनै लिए जस्तो। अब यो नियम तोड्ने लाइ सजाय पनि कडा नै थियो। त्यो हो १००० चोटि किस गर्न पर्ने बाफरे बाफ एक दुई गरेर सय गन्दा त अल्छि लाग्ने हुन्छ हजारौ चोटि त मरी हालिन्छ नि। यि सबै कुरा बिचार गर्दा, हाम्रो लब इकोनोमिकल थियो lets say affordable थियो। :)

त्यो दिन पनि चाबेलमा भेटेर मैती देवी तिर लस्कियो। खुइ खुइ हिड्यो भने १५ मिनेट लाग्थ्यो होला तर हाम्लाई घडी हेरेर ३० मिनेट देखी ४५ मिनेट लाग्थ्यो। लसर पसर गर्दै कलेज पनि पुगियो। हाम्रो जस्तै अरुको पनि लब परेको थियो। जस्तै ज्ञान्नेद्र र श्रीजना। राजा ज्ञान्नेद्र होइन नि । कलेज अगाडिको पसलमा बसेर त्यो दिन ज्ञान्नेद्रले kit kat बाढ्दै थियो। हर्रो नपाउने लाई जाइफल भने जस्तै ओरेन्ज बल नपाउने लाई किट क्याट। ल है केटोले लब परेको खुशीयालीमा चकलेट खुवायो भनेर सबै दङ्ग परे। मेरो हातमा पनि चकलेट आइ पुग्यो । पाइयो, खाइयो पुछ्नीनै भएन पछी पो श्रीजना ले आज उस्को birthday हो भनेर लजाएर भनिन् । ए हो कस्तो आजको दिनमा जन्मे को तिमी लाई धेरै माया गर्छ है भन्दै क्लास तिर लागियो।

११ बजे तिर सबै क्लास सकियो अरु कता कता गए था’ छैन हामी रातो पुल हुँदै पशुपती तिर लागियो । त्यो दिन मेरो गेट अप अली भिन्न थियो । पहेलो टीसर्ट त्यसमा burning Love लेखेको, मलाई पहेलो कलर मन परेर किनेको अब त्यस्तो लेखेको छ भन्ने अत्तो पत्तो छैन । धेरै पछी पो त त्यो टीसर्ट लगाएको फोटो हेरेर लाज पो लाग्यो त। अनी तेही टिसर्ट तल जिन्सको क्वाटर प्यान्ट अनी ५ इन्चको हिल भएको बुट, प्रभु त्यो हिल लगाएर पशुपतीको सिढी चढ्दा धन्नै प्राण जाला जस्तो भएको।

अब यस्तो रोमान्टिक दिनमा मरेको मान्छे पोलेको हेर्न ल्याएको भनेर म गन गन गरी रहे। पशुपतीको लास जलाउने opposite तिर माथि रुख नै रुख छ र त्यहाँ लहरै मेचहरु छ । त्यसलाई सबैले beautiful भन्थे। अकसर हामी त्यहाँ जान्थ्यो र हाम्रो जन्म पछी मृत्‍यु अवस्य छ है भनेर, त्यो जली रहेको पशुपतीको लाशले पाठ पढाई सकेको थियो। अब मन पर्छ भन्दैमा जहिले पनि यही आउन पर्छ र आफुलाइ हिंड्न कस्तो गार्हो भएको बेला भनेर फत्फताइ रहे।

खै मेरो प्रेमीले के सोचेछन मलाई जुरुक्क बोकेर सिढी उक्लन थाले । खैरेहरु नि यही हो मौका भनेर फोटो खिच्न थाले। झ्याइकुटी पार्दै बस्ने मेच सम्म पुराए पछी महारानीको गाथमा अली आराम मिल्यो। ;)
त्यहाँ पुगे पछी पसुपतीको घन्टी, सुमधुर भजनले मन नै आनन्दित पार्यो। हामी पशुपती तिर हेर्दै थियौ । सधैं जस्तो एक किसिमको रमाइलो थियो। त्यो ठाउँमा पुगे पछी यति आनन्दित फील हुन्थ्यो कि हामी एक आपसमा सार्है कम बोलिन्थ्यो। मैले तेतिकैमा भने aanu I got something for you.

मैले कार्ड दिए जुन मैले आँफै art गरेको थियो जसमा केटा र केटी अङालोमा थिए। कार्डको रङले उस्को मुहारमा ल्याएको उज्यालो छर्लङ्ग झल्कन्थ्यो। फेरी मैले झोला भित्र हात हाले र this is for you भन्दै फोटो album दिए। अल्बमको बाहिर दुई वटा केटा केटी र फुल भएको राम्रो चित्र थियो। त्यो अल्बम महँगो मध्य सबै भन्दा सस्तो थियो। त्यस लाई ५० रुपैयाँ तिरेकी थिए जुन मेरो १० दिनको चिया खर्च थियो।

अली रिसाए जस्तो गरेर, I have nothing for you, हामी पहिले भनेको होइन केही नदिने भनेर ईंग्लिश मा फत् फत् गर्न लाग्यो तर फेरी उसलाई झल्यास्स मेरो सजाय याद आएछ त्यसपछी त उता पसुपति नाथ तर यता मेरो नाथको खुशीले तीन नेत्र बली सकेको थियो।

सजाय तुरुन्त पाउनु पर्छ भनेर आदेश आयो म पनि के कम र!! विवाहपछीको एक महिना भित्र साहु ब्याज सहित अवस्य तिर्ने आश्वासन दिदै गूड् बाइ शिव जि भन्दै त्यो दिन आफ्नो आफ्नो घर तिर लागियो।

Read the similar story: प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा

1/19/10

डाडु पन्योउ भन्दा माउसनै चलाऊन सजिलो लौ जा

करिब २ बर्ष अगाडि सापको प्रायोजनमा १० जना महिलाहरुलाई निसुल्क कम्प्युटर पढाउने जिम्मा पाएकी थिए। दिदिबहिनिहरु थ्यौरी क्लास सकेर प्रयाक्टिकल कोठामा बेस्त थिए। यतिकैमा मैले एउटा ग्रुप लाई सोधे “भात पकाउन सजिलो कि कम्प्युटर चलाऊन? ” उनिहरुको एउटै स्वर आयो कम्प्युटर चलाऊन । ए तेसो भए तपाईंको बुढाहरुले दु:ख पाउने भए । हा हा हा हासोले कोठानै गुन्जायमान हुन्छ । तेतिनै बेला अर्का सर आइ पुगेर भन्छन् यो अर्चना मिस पनि सार्है जोक गर्नु हुन्छ । मैले भने कहाँ जोक गर्नु, म केटीहरुको मनको कुरा बुझ्दैछु । फेरी म अर्को ग्रुप भएको तिर लाग्छु र तेही प्रश्न तेर्साउछु। मेरो प्रश्न सकिन नपाउदै एउटिले जवाफ फर्काइन् कम्प्युटर चलाऊन नै सजिलो.. भात पकाउदा यस्तो रमाइलो कहाँ हुनु । तरकारीमा नुन धेरै हालेर अन-डु (Undo) गर्न मिल्छ र?

मैले पनि भने मलाई नि कम्प्युटरनै सजिलो लाग्छ, तातो डाडु पन्योउ समात्नु भन्दा माउसनै चलाऊन सजिलो अनी तरकारी पाक्यो कि पाकेन भनेर हातनै डाम्ने ढोकन उठाएर चियाउनु भन्दा कम्प्युटरमा ईन्टरनेटको झ्यालबाट संसारलाई चियाउनु नै रमाइलो।

नेपालको जनसंख्याको ४% महिलाहरुले मात्रै अहिले कम्प्युटर चलाऊन र सिक्न पाएका छन् । यो डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा पनि रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम धेरै गर्ने छन् । हुन त धेरै महिलाहरु टेक्निकल बिषय हो भनेर यो क्षेत्रमा आउन डराउछन् । महिलाहरु फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो झट्टै आउन सहज महसुस गर्दैनन् र टेक्निकल विषय केटाहरुले मात्र पढ्ने हो भन्ने सामाजिक संरचनाले गर्दा पनि महिलाहरु हिचकिच्उछन्। त्यस बाहेक अशिक्षा, सहि स्रोत, साधन र सूचनाको अभाबमा पनि यो क्षेत्रमा महिला पछाडि परेको देखिन्छ।

नेपाल मात्रै होइन मैले केही महिना अगाडि अष्ट्रेलियाको मेल्बर्नमा अष्ट्रेलियन कम्प्युटर सोसाइटिले(Australian Computer Society) अर्गनाइज गरेको सेमिनारमा भाग लिदा विश्वभरनै यो क्षेत्रमा लाग्ने महिला कम रहेछन । विश्व सामु सूचना तथा प्रविधि क्षेत्रमा बढी भन्दा बढी महिलालाई कसरी अगाडि ल्याउन सकिन्छ भनेर पहल हुँदै रहेछ।

म आफु पनि यो पेशामा भएकोले मेरो अनुभबमा, यो पेसा महिलाहरुको लागि सजिलो, धेरै हिड्डुल गर्न नपर्ने, आफ्नो सिप तथा दक्षता एकै ठाउँमा बसेर देश तथा बिदेशमा देखाउन मिल्ने र ईन्टरनेटबाट पनि कार्य गर्न मिल्ने हुनाले गर्भवती र अरु बिशेष अवस्थामै पनि घरमै बसेर काम पुरा गर्न सकिन्छ।

बिल गेट्सले भनेका छन् “गरिब जनतालाई राम्रो स्वास्थ चाहिन्छ कम्प्युटर होइन"
तर विक्ट बूकले भनेका छन “कोही महिला हो र गरीब पनि हो भने उस्ले दुई गुणा दु:ख पाउछ यदी तिनले सहि स्रोत र आवाज पाइनन् भने।“

"Poor People need good health, not computers" said Bill Gates.
But Wict Book says “poor women face a double disadvantage in access to resources and voice as they are both poor and they are women.”


जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन ।


मेरो आशय भातनै पकाउन छोडेर कम्प्युटर सिक्न जानु भन्ने पनि होइन तर कम्प्युटरको ज्ञान द्वारा तपाईंहरु पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन सकिन्छ। त्यस्तै गरेर आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि माध्यमबाट अत्यन्त सजिलो हुन्छ।

1/10/10

नेपाल बन्दले छेक्यो लब गर्नी लाई

नेपाल बन्द साना स्कुल जाने भुरा भुरीलाई काइदा
राजनीतिक पार्टीलाई फाईदा
काम गरेर खानेलाई मरीजा
अनी लब परेकोलाई पिडा

त्यो एउटा गीत नै छ नि "माया ले बोलायो नेपाल बन्दमा"अब बन्द को बेला बोलाए पछी परेन त फसाद। हो मलाई पनि यस्तै फसाद परेथ्यो। २००० तिर मेरो खुब जोडदार लब परेको थियो। अहिले पनि परी रा छ है :) तेती बेला बिशेष भन्नु पर्‍यो। दिन दिनै भेट्नु पर्ने एकदिन भेटेन भने पनि त्यो दिन निन्द्रा नलाग्ने , छटपट्टि हुन्थ्यो। अब अरु त के कुराले रोकथ्यो र भेट्नलाई तर यो नेपाल बन्द चाँही हाम्रो लागि दुश्मन नै थियो। तेती बेला पनि बन्द कहिले लगातार ३ दिन, कहिले अनिस्चितकाले हुन्थ्यो।

एकदिन त हाम्रो हिंडेर बिच बाटोमा भेट्ने प्लान भयो ललितपुर र काठमाडौंको बिचमा । तर भेट्न आउने बेलामा त जोश हुन्छ खुइ खुइ हिडिएला तर फर्केर आउने बेला त लुखुर लुखुर झ्याउनै हुन्छ नि त्यसैले घरमै सडेर बसिन्थ्यो।

आज भोली पनि लब गर्नी लाई नेपाल बन्दले रोकेको छ कि छैन तपाईंहरु भन्नु होला तर गरी खाने सोझा, पढ्ने विद्यार्थी र देशको प्रगती पथलाई चाँही पक्कै रोकेको छ । ।

Please politicians STOP this dirty game now.

1/8/10

Bra color facebook status-the bras are back in town


One of my dijju(sister) sent me message in facebook like this:
” In your FB status post the color of the bra you are wearing. Just the color, nothing else. Then send this message on to the girls in your life that you care about, leave the guys out of it, will be fun to keep them guessing when all they see are names of colors in our statuses! Do this for Breast Cancer Awareness and don't forget: FEEL YOUR BOOBIES(Girls)!!!!!


I just checked my facebook and its really colorful.
Ex Miss Nepal Payal Shakya Writes: Hot Pink

Other my friend writes: white & blue, Black, slateblue, off-white, white with silver polka dots, spotted pink on black, light blue with pink flowers, multicolor, net black etc but the popular color seems white, black and beige . :)

But who’s actually behind the bra color campaign, and what they’re trying to accomplish, remains a mystery. A Detroit blog suggests that the color update craze was started by women in Detroit who are trying to raise awareness around Breast Cancer (though October is Breast Cancer Awareness Month).

If this campaign about about breast cancer awareness then its about me, all mothers, sisters, daughters, wifes and I will not hesitate to write in facebook status the color of my bra …~~~***Beige***~



All About Breast Cancer Symptoms, prevention, treatment, support, online forums, & more.

12/30/09

टुप्पी भएका, नभएका सबैलाई राज्य, खला मखला सबैलाई राज्य, मुसो बिरालो हात्ती सबैलाई राज्य

यि माउबादीहरु त नचौटे रैछन खाली नाचछन् । फेरी जहाँ पनि नाच्ने। अब हाम्रा नेताहरु नचौटे म परे कम्प्युटरमा काम गर्ने । अब प्रत्येक २ -२ घण्टामा उठेर नाच्न पर्ला जस्तो छ। exercise पनि राम्रै हुने । अफिसमा सबैलाई मनोरन्जन पनि हुने । अनी आफ्नो देशको सस्क्रिती पनि देखाउन पाउने।

मैले देखे अनुसार पहिलो पल्ट हिसिला यमीले सारी लगाएर कम्मर मर्काउदै थिन । नत्र भने तिनी हिसिला त साँढे १ बर्ष अगाडि अष्ट्रेलिया आउदा नि उही बाबुराम जि कै जस्तो केटाको फेसनको कोट फिर्लिङ फिर्लिङ हल्लाउदै बैठकमा आएकी थिन । बिचरा अष्ट्रेलियामा बस्ने नेपाली आउरे बाउरेहरुलाई दौरा सुर्वाल र सारीको जोहो गर्न भ्याइ नभ्याइ थियो भरे त हाम्री भु.पु मन्त्रि परिन कुल (cool) बरा अष्ट्रेलियाका reprehensive चाँही चकित परे होलान। लुगाको बिषय छोडि दिउ पहिरन आफुलाइ जस्तो सजिलो हुन्छ तेस्तै लगाउने हो।

फेरी नाच तिरै फर्कौ अब यो प्रचन्ड र हिसिला नाचेको चाँही काठमाडौं नेवा राज्य भएको उपलक्ष्यमा थियो। नेवार बाउ आमाले जन्माए म जन्मिए। यो घोषणाले म न हर्ष नै भए न त बिषमात नै।

मलाई कसैले त नेवार होस् त काठमाडौंमा मात्र बस भन्यो भने मलाई जेलमा बस भनेको जस्तो हुने छ। म गोर्खामा जन्मिए त्यस पछी पहाड देखी तराइ सम्म २५ वटा जिल्लामा हुर्के बढे मलाई नेपालको हरेक ठाउँ प्यारो छ र मन पर्छ। म अहिले केही समयको लागि बाहिर छु र यो समयमा मैले नेवार होइन नेपाली भनेर चिनाएको छु।

अब यिन्ले त गण राज्य भनेर देश तथा जनतानै टुक्राउने भए। अब मेरो हुने वाला सिरमान बाउन, भोली पर्सी हाम्रा बच्चा होलान ति त ५०% नेवार होलान र ५०% बाहुन होलान। ति खस्केका बाहुन र उभो लागेका नेवार कहलिएलान तेस्तालाई कुन राज्य हुन नि? कि तेस्तालाई ललितपुर र काठमाडौंको कुपुन्डोलको सिमाना बागमती नदी हो। छ्या गनाउने !!

आज बाहुनले राज्य पाउलान, बाउन पनि दुई किसिमका होलान। टुप्पी भएका र नभएका टुप्पी नभएका तिनलाई छुटै छुटै राज्य चाहिएला। नेवार नि दुई थरीका होलान । एउटा नेवार जान्ने अर्को नजान्ने अब यिन्लाई पनि छुटै राज्य चहिएला। कुकुर, मुसो, बिरालो, हात्ती सबैलाई राज्य चाहिएला प्रभु सबैलाई राज्य कस्ले पुराउने हो? नेपालमा यति थरीका जात जाती र धर्म छन कि तिनलाई टुक्राउनुमा भन्दा जोड्नमा बिउटी छ।

यदी तिमीले त्यो काठमाडौं राज्य नेवारलाई मात्रै दिएका हौ भने चाहिदैन मलाई। तिमीले तराइ थारुहरुलाई मात्र दिएका मात्रै हौ भने स्विकार्दिन म। मलाई सिङै नेपाल राज्य चाहिन्छ । त्यस्तो राज्य जहाँ एउटा जातकै भरमा सिमाना कोरिएको नहोस् त्यस्तो राज्य जहाँ नेताहरु नाच्ने मात्रै होइन काम पनि गरेको देखियोस।

United we stand, divided we fall. -George Pope Morris

12/28/09

चकित पार्ने मेल्बर्नको मौसम


नोवेम्बरमै बिछ्च्ट्टै गर्मी भएपछी भए भरका बाक्ला लुगा दराजमा खाजेको त अस्ती त क्या जाडो भयो। बा! बा ! हो म त यो जाडो खप्नै सक्दिन। अस्ती सिटी जान थियो भए भरका लुगा लगाएर सिटी तिर निस्केको त त एक हूल चाइनिज केटीहरु सेता खुट्टा र पाखुरा देखाएर हिंडेको । कोही चाँही छोप्ने कुरा मात्र छोप्ने, कोही चाँही भर्खर mt. everest बाट झरेको जस्तो देखिने। यसो म तिर हेरे जस्तो नि लाग्यो, खिसी गरेर हासेको जस्तो नि लाग्यो तर भाषा के बुझ्नु झिङ झ्याआङ झुङ झुङ गर्छन्। के बोल्छन के बोल्छन । आ!! जो सुकैले जो सुकै भनोस भनेर ज्याकेट्को खल्तिमा हात हालेर सुइ सुइ हिंडे ।

एक्छिन हिंडेको त टन्ट्लापुरे घाम लाग्यो अहो चिट् चिट् भयो । लगाएको लुगा कता तिर फालेर नजिकैको साउथ यारा रिभरमै हाम फालु जस्तो भो। बा !बा ! हो ति केटीहरुलाई सम्झे तिनिहरुलाई त क्या मोज भयो होला भनेर सकी नसकी ज्याकेट बोके । यो ज्याकेट लगाउन्जेल ठीक, फुकालेर हिंड्न परे पछी घाडो भनेर एक्लै मुर्मुरिरहे।


हिडदा हिडदै ह्-वारर पानी पर्यो । थुइक्क छातानै ल्याउन बिर्सेंछु ज्या!! हिजो नै मोबाइलमा weather हेरेको 1 shower भनेको थियो। हाम्रो नेपालमा जस्तो हो र पानी पर्छ भनेर अड्कल काटे पनि मरिगए पानी नपर्ने । छाता बोकेर हिड्यो पानी नपरेर ब्याग मात्रै भारी । यहाँ त पानी पर्छ भने पछी पर्छ पर्छ । ईन्द्रसँग डाइरेक्ट कन्ट्याक्ट छ जस्तो छ। :)

यस्तो सोच्दा सोच्दै पानी झन दर्कदै गयो। छाता नहालेकोमा पछुतो मान्दै crown भित्र यसै क्रिस्मसको रमिता मन नलागी नलागी हेर्न छिरे । पानी रोक्यो होला भनेर एकछिनमा बाहिर निस्के, पानी रोकी सकेको रैछ।

बाहिर जाडो जाडो रैछ, ज्याकेट फेरी लगाए । वावो नेपाल देखी ९०० मा किनेर ल्याएको ज्याकेट खुब काम लाग्यो नेपालमै पनि १५०० भन्थ्यो बेमौसममा किनेर पो भरी छुट पाएकी नि नत्र भए यस्तो राम्रो ज्याकेट लाई यहाँ त १००-१२० डलर सम्म पर्छ ।किन्न सक्थे या सक्दिनथे भनेर आफुलाइ मपाइ गरेर बुद्दिमान सम्झी रहे । मान्छेहरु अक्सर भन्छन women, wine र weather को भर नपर्नु भन्छन् तर women र wine को बारेमा त अहिले म केही भन्दिन तर यो मेल्बर्नमा चाँही weather को केही भर नहुने रैछ है भनेर टुङोमा पुगे।

11/28/09

खाइसके पछि थालका कुरा

बिदेशमा बस्ने नेपालीहरुलाई बिछ्ट्टै नेपालको माया छ । म मरे पनि मेरो देश बाचि रहोस् फलोस फुलोस भनेर सोच्छन। केटाहरु कपाल पालुन, रङ लगाउन, केटिहरु मिनि स्किर्ट् लगाउन्, अङ्रेजी बर्बराउन तर बिदेशमा बस्ने नेपालीलाई नेपालको माया छता छुल्ल भएको पाए। हरेक नेपाली बस्ने घर वा रुममा नेपालको झन्डा वा नेपाल चिनाउने केही न केही बस्तु हुन्छ नै।

यि कुरा गर्दा मन प्रसन्न हुन्छ। प्रसन्नको कुरा गर्दा आज मेरो मन त्यस्को उल्टो छ। बिहान देखी आमाको खुब याद आइ राछ । फोन गर्दा तपाईंले प्रयास गर्नु भएको मोबाईलमा आगमन कल निषेध गरिएको छ भन्छ बा!!! ल्यान्ड लाइनमा फोन गर्दा किन यसो भनेको होला भनेर बिहान देखि मलाई तिरिमिरी झ्याइ भई रहेको छ।

हिजो पनि खाना बनाउन अल्छि लाग्यो , नुडल्स भुलुक्क उमालेर खाइयो। आमा भएको भए कस्तो कर गरी गरी खुवाउनु हुन्थ्यो जस्तो नि लाग्यो। आज पनि यहाँको घडीमा १२ बजी सक्यो पेटले आ' गरी सक्यो तर जागर चलेको छैन।

खानाकै कुरा गर्दा यहाँ घरको काम अथवा खाना बनाएर कोही पनि आईमाई घरमा बस्दैनन। बिहान अफिस जादा पुरुष र महिला बराबर देखिन्छ। त्यो हिसाबले यहाँ सबै जना काम गर्छन् । घरको काम मिली जुली सबैले गर्छन्।

मिली जुली कामको कुरा गर्दा नेपालमा किन घरको काममा आईमाईलाई मात्रै जोताएका होलान नि । एउटा तन्नेरी छोराले आमाले बनाएको खाना मिठो मानी मानी खान्छ तर उस्ले खाइसके पछी खाएको थाल नउठाएर फोहोरी तालले जहाँ खाएको तेही छोडेर हिड्छ। खाना बनाएर पनि दिनु छ जुठा भाडा नि माझ्नु छ। हे प्रभु!! तिमीले एउटा खाएको थाल माझ्दैमा तिमी सानो त हुँदैनौ अथवा तिम्रो हात त खिइदैन होला अथवा तिम्रो मान पदबी त गुम्दैन होला। बरु आमा, दिदी बहिनी वा घरका अरु आईमाई सदस्यलाई कती सजिलो होला। कती माया गर्लान।

त्यती मात्रै होइन, हामी नेपालमा पाहुना भएर कसैकोमा बस्न जान्छौ, धेरै जसो पाहुनाको सत्कार बडो राम्रो सँग गरिन्छ । मिठो मिठो खुवाइन्छ तर त्यो खाएर घिन लाग्दो तरिकाले फोस्रो आडम्बर पालना गरेर जहाँ खायो तेही थाल छोडेर हिंड्ने मान्छे देखेर चाँही मलाई वाक्स आउछ।

अहो!! भाषन लामै भयो तपाईंले अझै सम्म पढि रहनु भएको भए, म भन्न चाहन्छु कि यो मैले आफ्नो पिता बाट सिकेको कुरा हो आज फुर्सद हुनाले मेरो दिमाखमा टिङ्ग बज्यो र अहो यो त राम्रो कुरा हो भनेर लेखनमा आयो। खासमा कुरो के भने मेरो घरमा काम गर्ने मान्छे कोही राखेको छैन, काम गर्ने राख्ने कुरामा मेरो आमाले कहिले पनि सहमति जनाउनु भएन आफ्नो स्वार्थ पुर्तीको लागि अरु लाई कजाउने, आफ्नो सुखको लागि अरु लाई दु:ख दिने काम महा पाप भन्नु हुन्थ्यो। उहाको कुरा धार्मिक भावले ओतप्रोत भएको हुन्थ्यो तर अन्तमा लजिक लगाएर कछुवा बुद्धीले सोच्दा बडो ठीक लाग्थ्यो। सोही अनुरुप घरमा आफुले खाएको भाडा आँफै माझ्ने, आफ्नो लुगा आँफै धुने र आफ्नो रुम आँफै सफा गर्ने नियम छ।

एकचोटि नेपालमै छदा भर्खर बिहा भएको नयाँ ज्वाँई साहेबलाई हाम्रो घरमा खाना खान बोलाएको थियो । यो अब ज्वाँईलाई किन साहेब भन्छन, त्यो आँफै पत्ता लगाउनु होला अथवा ज्वाँईभई सक्नु भएकोले प्रस्टाउनु होला। हाम्रो घरमा पाहुना बोलाँउदा सबै जना मिली जुली बिशेष तरिकाले पकाइन्छ र सोही अनुरुप सब पकवान रेडी भयो। खाना खादा खेरिको बिशेष हेर बिचारको इन्चार्ज म थिए।

खान पान सकियो मेरो बुवाको त खाए पछी थाल माझ्ने बानी। बुवा थाल उठाएर माझ्न लाग्नु । बिचरा ज्वाँईलाई पर्नु फसाद पर्‍यो , नयाँ ज्वाँई म तिर पुलुक्क हेरेर केही भन्छ कि वा थाल तेही राख्नु भन्छ कि जस्तो लाग्यो होला तर म परे सैतान। म किन तेसो भन्थे तेतिकै मा बुवाले हेर्नुस् ज्वाँई यो थाललाई यसरी माझ्नु पर्छ भनेर घुमाइ घुमाइ माझेर देखाउनु भयो ति ज्वाँईले के सोचेछन कुन्नी उनी पनि माझ्न कस्सिए र खुब राम्रो सँग थाल माझे।

मैले सोचे मलाई कती सरापेका होलान, अब फर्केर नआउलान् भनेर हासो उठी रहेको थियो। त्यो दिन तेतिकै बित्यो त्यस्को केही हप्ता पछी बहिनीले फोन गरी दिदी अस्तिन उहा जाउलाखेल गएर आएदेखी त आफुले खाएको थाल आँफै माझ्नु हुन्छ र अरु लाई नि माझ भन्नु हुन्छ भनी। अहिले त हामीलाई खुब सुख भएको छ भनी। मलाई खुब हासो पनि उठ्यो तर ज्वाँई बुझ्झकि रहेछन भनेर मननै आनन्दित भयो।

हुन त यि साना कुरा हुन तर यस्ले जिबनमा पारिवारिक जिबनमा ठुलो प्रभाब पार्छ। परिवारमा एक अर्का प्रती बोझ होइन सपोर्ट हुन पर्छ जस्तो लाग्छ। बोझ दिने, टेन्सन दिने त बाहिरी कुरा काफी छन।

untill next time
love you mom..
love you all…

Jahimah: how do I go to paradise?
The prophet: is your mother alive?
Jahimah: yes
The prophet said: Hold fast onto her as paradise lies near her foot - islam saying.

11/21/09

के २०१२ मा पृथ्वीको अन्त होला त?

Google र you tube मा world ending 2012 खोज्नु भयो भने धेरै धेरै पोस्ट भेट्नु हुन्छ र तपाईंले विश्व अन्त हुने गजब गजबका कारण भेट्नु हुने छ। यसो हेर्दा लाग्छ ल! है साच्चैनै अन्त होला जस्तो लाग्छ।

ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त December 21 2012 मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले पनि अष्ट्रेलियामा खुब तहल्का मच्चाइ रहेको छ। हलको टिकेट बूकिङ नगरि हेर्न नपाईने भएको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन्।

कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने, कोही चाँही ह्या~~ यो त बकम्फुसे कुरा हो। समय समयमा यस्ता कुरा आइ राख्छन र यो कुरामा खासै वास्ता राख्दैनन।


Mayan Calendar मा २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने रहेछ। 2012 december 21 पछीको चाँही यो क्यालेन्डरमा डेट नभएकोले केही नराम्रो हुने अनुमान गरिएको रहेछ तर मलाई लाग्छ त्यसपछी झन राम्रो पो हुने हो कि? नेपालमा 2 बर्ष पछी सम्मको त क्यालेन्डर हुँदैन भने ति मान्छे महान हुन जसले २००० बर्षको तिथी मिती ग्रहण समय लाग्ने सबै अनुमान गरेर गए अब त्यो भन्दा बढी त त्यो गोलो चित्रमा अटाउनु पनि त पर्‍यो नि!!


अब मेरो बिचार बुझ्नु हुन्छ भने मलाई यो पृथ्वीको २०१२ मा अन्त होला भनेर सुन्य प्रतिसत पनि विश्वाश छैन। यदी अन्तनै हुने रहेछ भने पनि म यस्लाई सार्है सकारात्मक रुपले लिन्छु। यदी संसारकै अन्त हुनेछ भने सबै जना एकै चोटि मरिन्छ। आहा!! सबै स-परिवार एकै चोटि मरिन्छ। कोही कसैलाई एक अर्काको बिछोडमा गम हुने छैन। मान्छे जन्मे पछी मरण अवस्य हुन्छ। कोही अजर अमर अहिले सम्म छैन र यो नै अन्तिम सत्य हो। फेरी २०१२ सम्मनै बाचिन्छ भन्ने पनि त छैन नि भोली अथवा पर्सी नै पनि त सिलटिम्मुर खान सकिन्छ नि।

खासमा आज भोली मान्छेले आफु एकदिन मर्नु पर्छ भन्ने बिर्सेंको छ। दिनहु एक अर्काको खिचातानी , हत्या हिम्सा , अत्याचार बढ्दो छ। मान्छेले आफ्नो अन्तिम घडी सम्म पनि दुखी दुखीनै बिताएका हुन्छन्।

अस्ती म यहाँ channel 7 हेरेर बसेको थिए २०१२ फ्लिमको director को interview आइ रहेको थियो त्यस्मा सोधियो के २०१२ मा पृथ्वी अन्त होला? भन्दा हासेर google it भने । फेरी दोहोराएर interview लिने मान्छेले सोधे पनि उनको उत्तर भने I don’t know google it भनेर हासी हासी जवाफ दिए । जब फ्लिम बनाउने मान्छेलाईनै था' छैन भने अब अरुले फ्लिम हेरेर डराएर बस्नु त महा मुर्खता नै हो।


लौ पृथ्वीको अन्त नभए सँगै बाचौला, भए सँगै मरौला। बाचुन्जेल हासौ रमाऔ, राम्रो काम गरौ, अरुलाई सम्मान दिउ। 2013 january मा भेटेर खुशी खुशी सबै लाई शुभकामना बाडौ।

Death is not the greatest loss in life.
The greatest loss is what dies inside us while we live.

10/10/09

अम्रिकाले भिसा दिएन, नेपालमा बस्न मन छैन


I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs



नतिनी जन्मेको खुशीयाली बडो उत्साहमय थियो। हजुर बाउपनि के कम तुरुन्तै हल्दिरामको सोना पाप्रीले मुख मिठाइ हाले। हुन त उनको सुगर रोग पुरानै हो। तर आज चाँही बाल मतलब थिएन।
पहिलो नातिनी लक्ष्मी नै हो भन्ठाने। दिउसो तिर त छोरोको साथीले कता कता बाट फेस बुकबाट फोटो डाउनलोड गरेर प्रिन्ट नै गरेर ल्याइ दिएछन्। भर्खर मात्रा के जन्मेको भनेर अम्रिकाबाट फोन आएको थियो। फोटो पनि ट्याक्कै हेर्न पाइयो भनेर दङ्गदास परे दुबै हजुरबुवा र हजुर मुमा।

नेपालमा किन हो कुन्नी नाती नातिनाप्रती हजुर आमा बुवाको बिशेष लगाब हुन्छ।
मगन्नै पैसा भएर पनि काम बाहेकले पोखरा पनि घुम्न नगएका बुढा बुढीलाई नातिनिको मायाले चुम्बक जस्तै तान्यो। एक झलक हेरौ, खेलौ, माया गरौ भन्ने झल्को आइ रह्यो।


लौ मरी लानु के छ त अम्रिका पनि घुमौ , छोरा बुहारी नातिनीलाई पनि भेटौ भनेर भिसाको लागि अप्लाइ गरे। भिसा preparation को लागि सबै कागजात तयार भयो आफ्नो चल अचल सम्पत्ति सबैको हिसाब किताब देखाइयो। काठमाडौंको मात्रै मेन चोकमा दुई वटा घर । दुई वटाको करीब दुई करोड पर्ने । सुन १५ तोला जती, त्यस बाहेक जग्गा जमिन। ठुलै ढड्डानै तयार भयो।

उही black and white नातिनीको dot matrix printer मा प्रिन्ट गरेको अनुहार पनि राम्ररी नदेखिने फोटो देखेरै मक्ख परेका बुढा बुढीलाई कती बेला अमेरिका जाउ जस्तो भएको थियो।

यि सारा सपना त जब चकना चुर भयो तब बुढा बुढीले भिसा पाएनन्। निर्दयी मुटु भएकाहरुले भिसा दिनु पर्ने कारण नै देखेनन रे। अ रे बाबा सितैमा जान्छु त भनेको छैन नि, टिकेट काटेर गजब सँग पैसा खर्च गरेर देश घुम्न जान्छु भन्दा नि नपाईने?? आफ्नो छोरा बुहारी नातिनीलाई भेट्न जान्छु भन्दा नि नपाउने? के ७० बर्षकटेका बुढा बुढीले कहाँ कमाउन बस्लान भन्ने डर पो भएछ कि?
सार्है अमिलो मुख लाएर हजुर बुवाले भने भगवानले यो संसार मानब जातीको लागि बनाइ दिएको आज तेरो मेरो गर्दा आफु पैसा तिरेर जान्छु भन्दा नि यो ईश्वरको रचना कस्तो रहेछ भनेर हेर्न नपाईने?
उनी सँग धन नभएको पनि होइन उनी सँग मज्जाले एक महिना सम्म होटेलमा बसेर मज्जाले घुमेर आउने गरी जिन्दगी भर कमाएका थिए।

उनको गल्ती यही थियो कि उनी नेपालमा जन्मिए। त्यस्को सट्टा लण्डनमा जन्मेको भए क्रेडिट कार्डमा केही हजार डलर देखाएर अमेरिका जान पाउथे। नेपालमा जन्मिनाले मिलियन डलर देखाउदा नि पत्याएनन्। यो अमेरिकाले नि विद्यार्थी , अरु कामको लागि जाने लाई रोक टोक गरेनी कमसेकम बुढाबुढीलाई त छोरा छोरी भेट्न जान दिनु नि।

हाम्रो देशमा आउन त त्यस्तो झन्झट छैन कसैलाई। तिमी सँग घर होस् या नहोस् तिमी सँग जती नै रिन होस्। घुम्ने मात्रै पैसा देखाए पनि तिमीहरु लाई स्वागत छ त । अझै ए!! आउन हो!! नेपाल आउ भनेर निमन्त्रणा दिएकै छौ।

तिम्रो देश आधुनिक रुपमा बिकास भएको होला तर हाम्रो देश त एउटा स्वर्गकै टुक्रा हो। तिमी लाई जती आफ्नो देश को माया लाग्छ तेती नै हामी लाई पनि लाग्छ।

तिमी बिदेशी नेपाल आउने भन्नासाथ नेपालीहरु एअरपोर्ट देखीनै फुल माला अबिरले स्वागत गर्छन् तर तिम्रो देशमा फूल माला त के नेपालमा रहित अमेरिकन embassy देखी नै निरास पार्छौ।

तिमी नेपाल आउदा खर्च गर्छौ होला। नेपालीहरु पनि त कम छैनन नी अमेरिका गएको बेला ठाटले खर्च गर्छन् नेपालमा कोदोकै रोटी खाएको भए नि newyork र California मा बिस डलरको पिज्जा खान्छन्।

अन्तिममा बुढा हजुर बुवा भन्छन ओबामा तिमी आफ्नो बुढी , छोरीहरु र कुकुरसँग हासी खुशी बस । हामी चाँही नातिनी को फोटो हेरेरै चित्त बुझौला।

10/3/09

पासवोर्ड बिर्सेंर बर्बाद

बैंकले दिएको सास्ती

यो बिर्सने बानीले पनि हैरान पार्‍यो। के गर्नु देशी बदाम पनि खाएकै छु बेला मौकामा गाईको दुध पनि खान्छु नै। कहिले काही त छिन का छिन बिर्सन्छु । कहाँ के सामान राखेको अत्तो पत्तो हुँदैन। अस्ती नयाँ पेन किने एक्छिन मै कता राखे कता भुसुक्कै बिर्सें। धेरै खोजे पाइन । पछी ह्या हराओस भनेर छोडिदिए । बेलुका तिर सुत्दा त टाउकोमा कोपेको जस्तो भयो । यसो छामेको त नयाँ पेन त कपालमा घुसारेको रैछु । लौ हेर्नुस् त म कस्ती हुस्सु।


अब यि त साना कुरा भए तर मैले एउटा कुरा बिर्सेंर ठुलो सजाय पाएको छु ल हेर दसैंको मुखमा बैंकको password बिर्सेंर रुनु न हास्नु भएको छ । investment bank को ebanking मा तीन चोटि सम्म password try गरेको त अकाउन्ट नै लक भयो।


म त नेपालको investment बैंकको security सिस्टम देखेर जिल परेको छु। बेला बेलामा automatic password चेन्ज गर्न पर्ने। password बिर्स्यो भने सजिलै नपाईने । तपाईं नेपाल बाहिर हुनुहुन्छ र कसैलाई अन्लाईन पैसा transfer गर्नु छ र password बिर्सनु भयो भने त पक्का डुब्नु भयो। संसारका कुनै पनि बैंकलाई पछी पारेको छ् यो investment bank को security system ले।

अष्ट्रेलियामा पनि net banking हुन्छ। आज ट्राइ गर्दा लक भयो भने भोली password सम्झ्यो भने सजिलै लगिन हुन्छ अथवा password सजिलै पाउने उपाय हुन्छ । तर मेरो गोबर भरेको दिमाखले कस्तो बिर्सेंर बर्बाद भयो। त्यस्तो कडा अती कडा सिक्युरिटी छ भन्ने मलाई कस्तो था नभएर password नै बिर्सेंको होला।


बैंकको कृपा हुन्छ कि भनेर feebcack form(I have forgotten my password and require a new one. ) मा सबै आफ्नो कुन्डली भरेर पठाएको पनि आज दुई हप्ता हुन लागि सकेको रैछ। तर खै त्यो ईमेल junk folder मा गयो अथवा बाटो मै हरायो। नेपाल पठाएको पार्सल जस्तो ईमेल पनि हराउन थालेछ कि क्या हो? ;)

मेरो अरु उपाए पनि छैन कुर्नु बाहेक, अब नेपालनै गएको बेला मेरो दात डिच्च देखाएर पछी password देलान कि?

त्यो ईमेल रिप्लाई नगरने भए किन मान्छेलाई आस देखाएर feedback form राखेका होलान। होइन भन्या, त्यो महिनै नबिराइ लिने सर्भिस सुल्क के का लागि हो जब कि एउटै ईमेल पनि रिप्लाई गर्दैनन् भने। अरु सेवा त परै जावोस। हरेकका दिमाख तेजिला हुँदैनन अहिलेको आधुनिक युगमा संसार नै username र password ले बेरिएको छ सबै कुराको password नै सम्झिराख्न गार्हो।

मेरो त्यस्तो complain गर्ने बानी पनि होइन। तर एउटा ग्राहक भएकीले आफ्नो अधिकार मात्र मागेकी हुँ।